सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा सहसचिवसहित तीन कर्मचारी बेपत्ता

शनिबार, २० जेठ, २०८०
डिजिटल संस्करण
सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा सहसचिवसहित तीन कर्मचारी बेपत्ता

बेपत्ताको खोजी गर्दै गोताखोरको टोली

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् । 

भक्तपुरको सानोठिमीबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसी नदीमा खसेको र तीनजना कर्मचारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । 

तनहुँ भानु नगरपालिका– ९ स्थायी ठेगाना भई सिटिइभिटीका सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका– ७ स्थायी ठेगाना भएका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई विद्युत् प्रशिक्षक पदमा कार्यरत भानु पौडेल बेपत्ता भएका हुन् । चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।

चालकको भनाइ उद्धृत गर्दै दाहालले बताएअनुसार गाडीको ब्रेक फेल भई भित्तातर्फ लगेको भए पनि भित्ताबाट पुनः गाडी अनियन्त्रित भई नदीमा खस्न पुगेको हो । गाडी र बेपत्ताको खोजीका लागि शुक्रबार काठमाडौंबाट गोताखोरको टोली परिचालन भएको छ । शुक्रबार साँझसम्ममा सवारीसाधन र गाडीमा सवार व्यक्तिको अवस्था पत्ता नलागेपछि खोजबिन स्थगित गरिएको र शनिबार फेरि खोजी हुने उनले बताए ।

See More On

सुझावित समाचार