मोटोपन नियन्त्रणमा बाधा पुर्‍याउने चार सामान्य गल्ती

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

मानिसले मोटोपन नियन्त्रणका लागि धेरै तरिका अपनाउँछन्, तर यसका बाबजुद केही सामान्य गल्तीले ती प्रयासमा बाधा सिर्जना गरिरहेको हुन्छ ।

अति महत्वाकांक्षा : अति महत्वाकांक्षी लक्ष्य बनाउनु अर्थात् छोटो समयमै अत्यधिक तौल नियन्त्रण गर्छु भनेर सोच्नु घातक हुन सक्छ । यसरी सोच्ने मानिस भनेजस्तो नभएपछि स्तब्ध वा फ्रस्टेड हुन्छन् । त्यसैले तपाईंले आफ्नो शरीर, जीवनशैली र स्वास्थ्य हेरेर कतिसम्म घट्न सकिन्छ भन्ने योजना बनाउनुपर्छ ।

राम्रोसँग तौल नियन्त्रण गर्नका लागि दीर्घकालीन रूपमा जीवनशैली परिवर्तन गर्नुपर्छ । आफ्नो स्वास्थ्यमा असर नगर्ने गरी तौल बिस्तारै घटाउँदै लग्नुपर्छ । चिकित्सक वा डाइटिसियनसँग परामर्श गर्दा तपाईंको तौल नियन्त्रण यात्रा सहज बन्नेछ । 

क्यालोरीमा अस्वाभाविक कटौतीले पनि असर : कतिपय मानिस छाक छाड्छन् वा क्यालोरीको मात्रा अत्यधिक कम गरिदिन्छन् । यसो गर्दा सहजै तौल नियन्त्रण हुन्छ भन्ने उनीहरूलाई लाग्न सक्छ । तर, यसले खासमा तपाईंको मेटाबोलिजमलाई कम गर्न सक्छ र मांसपेशी घट्न सक्छ ।

फलस्वरूप शरीरमा थकान र कमजोरी देखिन्छ । त्यसैले तपाईंले भोजनमा कटौती होइन, आफ्नो शरीरको आवश्यकता हेरेर सन्तुलित भोजन गर्न आवश्यक छ । कतिपय मानिस चाँडै तौल घटाउने बहानामा फ्याड डाइटमा निर्भर हुन्छन् ।

तर, दीर्घकालका लागि यो फाइदाजनक होइन । तपाईंले पोषक तत्व प्रचुर भएका खानेकुरा खानुपर्छ । खानामा फलफूल, तरकारी, प्रोटिनयुक्त आहार, अन्न र स्वस्थ फ्याटहरू समावेश हुनुपर्छ । 

शारीरिक गतिविधिको कमी : तौल नियन्त्रण डाइटले मात्रै हुँदैन । समग्र स्वास्थ्य र मोटोपन नियन्त्रणका लागि नियमित अभ्यास आवश्यक पर्छ । कार्डियो, स्ट्रेन्थ ट्रेनिङ र शरीरलाई लचक बनाउने गतिविधिले मोटोपन नियन्त्रणमा सहयोग गर्छ । यसका लागि फिटनेस प्रशिक्षकसँग सल्लाह गर्नु राम्रो हुन्छ । 

धैर्यको कमी : तौल नियन्त्रणका लागि निरन्तरता र धैर्य चाहिन्छ । तत्कालै तौल घटेन भनेर नआत्तिनुस् । आफ्नो स्वस्थ दैनिकी र बानीलाई निरन्तरता दिनुस् । छिटो होइन, लामो समयसम्मका लागि तौल घटाउने तयारी गर्नुस् । 

See More On

सुझावित समाचार