नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेता, गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीनिवाससम्म पोलिएका छन् । बिचौलिया केशव दुलाल र सानु भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला र छोरा प्रतीक, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका स्वकीय सचिव लीला जिसी, पूर्वगृहमन्त्री बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ ।
केशव दुलालको बयान संक्षेपमा
तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यबारे
तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई ०७६ असोजमा एक करोड रुपैयाँ नगदै बुझिलिएको ।
बादल, उनकी पत्नी नैनकला र छोरा प्रतीकबारे

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादलले राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि तीन करोड नगदै बुझिलिएको, प्रतीक थापाले नक्साल नीलगिरि थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटेलको माथिल्लो तलामा बोलाई ०७६ असारमा एक करोड बुझिलिएको ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका पिए लीला जिसीबारे
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका पिए लीला जिसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, मन्त्रिपरिषद्को सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ, ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझिलिएका हुन् ।
बागमतीका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य र काठमाडौंका तत्कालीन मेयर शाक्यका पिए राजेश्वर स्थापितबारे

तत्कालीन प्रधानमन्त्री केपी ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरूको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही एक करोड बुझिलिएको ।
पूर्वगृहसचिव प्रेमकुमार राईबारे

तत्कालीन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई ०७६ असारमा तीन करोड नगदै बुझिलिएको ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबारे

टेकनारायण पाण्डेले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी विश्वास दिलाएपछि मैले निजलाई एक करोड २४ लाख ५० हजार रुपैयाँ दिएको हुँ । रकम दिँदा के–कहाँ ल्याइदिनुपर्यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक–पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ ।
सानु भण्डारीको बयान संक्षेपमा
बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईबारे

मैले ०७६ असार २ गतेतिर नीरज राई र इन्द्रजित राईलाई सँगै होटेलमा भेटी नगद एक करोड ५० लाख दिएको हुँ । सो रकम मैले राईलाई दिने वेलामा उनको चालक खटिएका हाल यकिन नाम थाहा नभएको प्रहरी पनि सँगै थिए । उनलाई पनि पैसा दिएको कुरा थाहा छ । ०७६ साउनको १४–१५ गते मैले उक्त रकम इन्द्रजित राईलाई बुझाएको हुँ । त्यतिवेला राईले हाल बसोवास गरिरहेको गोदावरीमा घर किन्न लागेका थिए ।
बादलपत्नी नैनकलाबारे
मैले ०७६ साउन २५ गते मन्त्री क्वार्टर पुल्चोकमा गई नैनकला थापालाई नगदै एक करोड बुझाएको हुँ । त्यसवेला इन्द्रजित राईको सुरक्षामा खटिएका प्रहरी पनि साथै थिए ।
– मलाई इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, उक्त रकम गाडीमा राखिदिनु भनेर भनेको हुँदा मैले साथमा लिई गएको नगद एक करोड गाडीमा राख्न लगाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको हुँ ।
टोपबहादुरका छोरा सन्दीपबारे

बरामदी डायरीको पाना २९ माघ ०७२ शुक्रबार लेखिएको सन्दीप रायमाझी भाइलाई दिएको रकम विवरण शीर्षकमा ०७४ वैशाख ४ गतेदेखि ०७४ चैत ३० गतेसम्म २० पटक गरी ६९ लाख ६५ हजार पाँच सय दिएको भनी लेखिएको रकम लिने सन्दीप रायमाझी भन्ने व्यक्ति पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका आफ्नै छोरा हुन् ।