जन्डिस (कमलपित्त) आफैँमा रोग होइन । तर, यो कुनै रोगको लक्षण हो । जुन हाम्रो शरीरका विभिन्न भागमा पहेँलोपनका रूपमा देखा पर्छ । आँखा पहेँलो हुनुका साथै छालाको रङ पहेँलो हुनु र नङ पहेँलो हुनुलाई जन्डिसको रूपमा बुझ्छौँ । सबै जन्डिस एकै प्रकारको हुँदैन । पित्त कलेजोमा उत्पादन हुन्छ । धेरैजसो रोग कलेजोसँग सम्बन्धित हुन्छ । कलेजोबाहेक रगतका रोगहरूबाट पनि जन्डिस हुन सक्छ । कलेजोभन्दा अघिको कारणबाट हुने जन्डिस, कलेजोको कारणले हुने जन्डिस र कलेजोभन्दा पछि हुने कारणबाट हुने जन्डिस तीन वर्गमा विभाजन गरिएको हुन्छ ।
जन्डिस हुने कारण
जन्डिस विभिन्न कारणले हुने गर्छ । जसमध्ये रगतमा बिलिरुबिनको मात्रा बढी हुँदा पनि हुन्छ । जन्डिसले बच्चाबाहेक अन्य उमेरका मानिसमा खासै असर गर्दैन ।
एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर, पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ । रगतमा भएको बिलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइमको कमी हुँदा बिलिरुबिनको मात्रा झन् बढेर जन्डिस हुन्छ । साथै, विविध कारणले पित्तथैली बन्द हुँदासमेत जन्डिस हुने गर्छ ।
यदि कसैको रगतको खराबी, होमोलाइटिक रोग छ भने कसैलाई फियोको समस्या, कसैलाई रक्तकोषको समस्याका कारणले पनि जन्डिस हुन्छ । यो जन्मजात पनि हुन सक्छ । रगतको क्यान्सर, रगतसम्बन्धी अन्य रोग, फियोको खराबीलगायतका कारणले देखिने हुन्छ ।
कलेजोमा समस्या देखियो भने पनि जन्डिस देखिन्छ । पित्तथैलीको पत्थरी पित्तनलीमा गयो भने, पित्तनलीमा पत्थरीले ब्लक भयो भने पनि जन्डिस गराउन सक्छ । रक्तसञ्चार हुने नसाहरू खुम्चिएको अवस्थामा पनि जन्डिस हुन सक्छ । जन्डिस हुने कारण थुप्रै हुन्छन् ।
लक्षण
- जन्डिस हुँदा खान मन नलाग्ने ।
- हेपाटाइटिसको कारणले भएको जन्डिसमा कसैकसैलाई दाहिने कोखामा दुखाइ हुने ।
- ज्वरो आउने ।
- कमजोर महसुस हुने, थकाइ लाग्ने ।
- पिसाब पहेँलो र बाक्लो हुँदै जाने ।
- आँखा पहेँलो हुने ।
- दिसामा सेतो देखिने
उपचार विधि
- जन्डिसको लक्षण देखिएमा रगत जाँच, अल्ट्रासाउन्ड र पेटको एमआरसिटी जाँच गरेर पनि यसको निदान गर्न सकिन्छ ।
- जन्डिस के कारणले भएको हो भन्ने पत्ता लगाउन जरुरी छ । जन्डिस लक्षण मात्र भएकाले सम्बन्धित रोगको उपचार गर्दा आफैँ निको हुन्छ ।
- दैनिक खानपानले जन्डिसमा धेरै प्रभाव पारिरहेको हुन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । उसिनेको खानेकुरा, रातो मासु, अन्डाको पहेँलो भाग, गाई–भैँसीको घिउ, गुलियो स्वाद नभएका फलफूल खाने ।
- सादा खाना, कम चिल्लो–पिरो खानेकुरा ।
- अल्कोहलजन्य खानेकुरा नखाने ।
- धूम्रपान, मद्यपान नगर्ने ।
- जथाभावी औषधि सेवन नगर्ने ।
- जन्डिस भएकाले आराम गर्नुपर्छ । यस्तो वेला छिटै थकान लाग्ने र कमजोर महसुस हुने हुँदा शारीरिक परिश्रम गर्नुहुँदैन ।