दमक नगरपालिकाले आठ करोड उठाउन बाँकी, कृषिमा मूल्यांकन गर्न निवेदन
झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी टी गार्डेन प्रालिबाट दमक नगरपालिकाले झन्डै १८ वर्षदेखि राजस्व उठाउन सकेको छैन । पूर्वराजपरिवारको स्वामित्वमा रहेको चिया बगानको पाँच सय ७६ बिघा १७ कट्ठा १४ धुर जग्गाको सम्पत्ति कर नगरपालिकाले स्वमूल्यांकन गरेको छ । यद्यपि, बगानले भने हालसम्म कर तिरेको छैन ।
०६२/६३ को परिवर्तनसँगै दमक नगरपालिकाले पूर्वराजपरिवारको बगानलाई सम्पत्ति कर लगाउँदै आएको छ । हिमालय महालक्ष्मी टी गार्डेनले जग्गाको विवरण नबुझाएपछि दमक नगरपालिकाले स्वमूल्यांकन गरेर सम्पत्ति कर लगाएको हो । मालपोत कार्यालयमार्फत विवरण मगाएर दमक नगरपालिकाले आफैँ मूल्यांकन गर्दै राजस्व निर्धारण गरेको जनाएको छ । आर्थिक वर्ष ०६२/६३ देखि हालसम्म बगानले सम्पत्ति करबापत जरिवानासहित आठ करोड ६३ लाख ९७ हजार नौ सय ७७ रुपैयाँ कर बुझाउन बाँकी छ । यद्यपि, कर तिर्न र आफ्नो विवरण बुझाउन अझै हिमालय महालक्ष्मी टी गार्डेन नगरपालिका आएको छैन ।
करिब १८ वर्षसम्म कर नबुझाउँदा पनि दमक नगरपालिकाले भने बगानबाट राजस्व असुली गर्न सकेको छैन । पूर्वराजपरिवारकै बगान भएका कारण पनि दमक नगरपालिकाले राजस्व असुली गर्न नसकेको हो । विगतमा कर्मचारीले नगरपालिका चलाउँदा कर निर्धारण गरे पनि असुली गर्न सकेनन् । ०७४ मा निर्वाचित जनप्रतिनिधिले पनि बगानबाट कर असुली गर्न सकेनन् । अहिले निर्वाचित जनप्रतिनिधिले पनि एक वर्षसम्म असुली गर्न सकेका छैनन् । गत फागुनमा बगानमा रहेको मिनी दरबारभित्र पूर्वराजा शाहले लामो समय बिताए । त्यस क्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले पूर्वराजा शाहलाई पटक–पटक भेट गरे । यद्यपि, बगानको राजस्व भने उठाउन सकेनन् ।
चिया बगानको जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ । तसर्थ नगरपालिकाले त्यहीअनुसार स्वमूल्यांकन गरेर कर निर्धारण गरेको छ । ‘बगानले करको विवरण बुझाएपछि मात्र कति कर हुन्छ भन्ने निस्किने हो । तर, विवरण नबुझाएपछि हामीले हाम्रोअनुसार स्वमूल्यांकन गरेका छौँ,’ दमक नगरपालिकाका राजस्व प्रमुख भरत गौतमले भने, ‘हामीले राजमार्गमा जोडिएको जग्गा भएका कारण त्यहीअनुसार मूल्यांकन गरेका छौँ । तर, उसले राजमार्गमा भए पनि कृषि प्रयोजनका लागि हो । त्यहीअनुसार हुनुपर्छ भनिरहेको छ । हामीले त्यहीअनुसार हुनुपर्छ भने विवरण पेस गर भनेका छौँ ।’
चिया बगानले कृषिमा पर्ने भन्दै राजस्व छुट माग्दै दमक नगरपालिकामा निवेदन दिएको राजस्व अधिकृत गौतमले जानकारी दिए । ‘मजदुरलाई ज्याला पनि दिन नसकेर धराशयी भएको छ । केही न केही सहुलियत गर्नुपर्यो, कृषि प्रयोजनका लागि प्रयोग भएको जग्गा हो । त्यहीअनुसार राजस्व निर्धारण हुनुपर्छ भनेर निवेदन आएको छ,’ उनले भने, ‘आएको निवेदलाई बसेर यकिन गर्नुपर्छ । यो नगर सभाले गर्नुपर्ने कुरा हो ।’ दमकको वडा नम्बर ९ र ४ मा रहेको बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । सोल्टी ग्रुपबाट खटाइएका बगानका व्यवस्थापक श्यामल सुब्बाले हिमालय महालक्ष्मी टी गार्डेनले राजस्व तिर्नुपर्ने बताए । यद्यपि, यसबारेमा नगरपालिकासँग समन्वय भइरहेको जानकारी दिए ।
दमक नगरपालिकाले भने हिमालय महालक्ष्मी टी गार्डेनबाट राजस्व उठाइने जनाएको छ । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद ढकालले कसैलाई पनि राजस्व नतिर्ने छुट नहुने बताए । ‘यति धेरै बक्यौता छ । छुट दिने कुरा छैन । तर, बगानले अधिकांश जग्गा कृषिमा पर्छ । त्यसको गर्दा राजस्व कम हुन्छ भनेर निवेदन दिएको छ । कानुनतः के हुन्छ भनेर हाम्रो राजस्व परामर्श समितिले अध्ययन गर्दै छ,’ उनले भने, ‘अध्ययनको रिपोर्ट समितिले कार्यपालिकामा ल्याउँछ । त्यहीअनुसार निर्णय गरेर कर उठाउँछौँ । राजस्व छुट दिने अधिकार हामी कसैलाई छैन ।’