संसदीय समितिका लागि एमालेले बुझायो नाम, कांग्रेस र माओवादीले आज दिने

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद सचिवालयलाई बुझाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले विहीबार प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम सचिवालयलाई बुझाएका हुन् । 

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रमुख प्रतिपक्षी एमालेबाट संसदीय समितिमा सदस्य रहने सांसदहरूको नाम प्राप्त भएको बताए । उनकाअनुसार सत्तारुढ कांग्रेस र माओवादीले शुक्रबार विहान नाम बुझाउने प्रतिबद्धता जनाएका छन्, अन्य दलले यसअघि नै समितिमा नाम उपलब्ध गराइसकेका छन् । 

एमालेबाट नाम प्राप्त भएको र सत्तारुढ दलले विहान नाम उपलब्ध गराउने भएपछि संसद सचिवालयले शुक्रबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा समिति गठनको विषय राखेको छ । उक्त कार्यसूचीमा ‘सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने माननीय सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने’ उल्लेख छ ।

११ वैशाखमा तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार एमालेले प्रतिनिधिसभातर्फ लेखा र एउटा अन्य (अर्थ) समितिको सभापति पाउने तय भएको छ । संयुक्ततर्फ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेले पाउनेछ । 

कांग्रेस सांसद रामहरि खतिवडाले पार्टीले नाम छनोट गरिसकेको र शुक्रबार सभामुखलाई बुझाउने बताए । ‘हाम्रोतर्फबाट करिब नाम छनोट भइसकेको छ । संवैधानिक परिषद्मा एमालेले बखेडा झिक्दा समिति गठनमा विलम्ब भयो । शुक्रबार नाम बुझाउँछौं,’ उनले भने ।  

See More On

सुझावित समाचार