उमेर नपुग्दै आमा, जन्मिँदै कुपोषित

डिजिटल संस्करण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ५ लाइतकी नन्दकला केसी १७ वर्षको उमेरमै सुत्केरी भइन् । १६ वर्षमै विवाह गरेकी उनी अहिले १८ वर्षको भइन् । छोरी १४ महिनाको भइसकिन् । 

छोरी प्रियंकाको तौल असामान्य कम हुनुका साथै खाना पनि नखाने भएपछि उनी सम्रुतु स्वास्थ्य चौकी पुगिन् । त्यसपछि मात्र थाहा पाइन् छोरी कुपोषित भएकी रहेछिन् । ‘म त छोरी नबढ्ने भर्ई भनेर डराएकी थिए । स्वास्थ्य चौकीबाट लिटो लिएर खुवाउन थालेपछि तौल बढ्न थालेको छ,’ उनले भनिन् ।

स्वास्थ्य चौकीमा लगेर उपचार गराएपछि छोरीको तौल डेढ किलो बढेर साढे ६ केजी पुगेको छ । जन्मँदा उनको तौल दुई किलो मात्र थियो । नन्दकलाका अनुसार प्रियंका सँगसँगैका छिमेकी बालबालिका हिँड्न थालिसके । तर, प्रियंका राम्ररी उभिन सक्दिनन् । बिहानै उठेदेखि सुरु हुने नन्दकलाको दिनचर्या राति अबेरसम्म चल्ने भएकाले राम्ररी खान र आराम गर्न पाउँदिनन् । उनले छोरीलाई पनि राम्ररी दूध चुसाउन पाउँदिनन् ।

‘एक महिनासम्म दूध नै आएन । त्यसपछि दूध आउन सुरु गरे पनि छोरीले खान मानिन,’ उनले भनिन्, ‘धामी–झाँक्री गर्यौँ । मेडिकल लग्यौँ । केही समयसम्म पाउडर दूध पनि खुवायौँ । यति गर्दा पनि नभएपछि स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराएँ ।’ घाँटी घ्यारघ्यार गर्ने, निमोनियालगायत समस्या देखिन थालेपछि मात्र प्रियंकालाई उनको परिवारले स्वास्थ्य चौकी पुर्याएको थियो । 

                                                  ०००

त्रिवेणी गाउँपालिका– ५ ज्यालंगाकी धनमाया ओली १६ वर्षमै सुत्केरी भइन् । अहिले १८ वर्ष पूरा भएकी धनमायाकी १५ महिनाकी छोरी प्रियंसा छिन् । जन्मिँदै ख्याउटे प्रियंसाको तौल साढे ७ केजी मात्र छ । तर, धनमायाले छोरीको नियमित उपचार गराएकी छैनन् । छोरी पाँच महिनाकी हुँदा सिम्रुतु स्वास्थ्य चौकीबाट लिएको लिटो करिब एक महिनासम्म खुवाइन् । त्यसपछि छोरीको वृद्धि विकासका लागि धनमायाले पोषिलो खानेकुरा नखुवाएको बताइन् । उनलाई छोरी किन बढिनन् भन्ने बारेमा चिन्ता छैन । ख्याउटेपनाको उपचार हुन्छ भनेर पनि थाहा नपाएकी उनले स्वास्थ्य संस्था लगेकी छैनन् । उनको परिवार बजारमै कोठा भाडामा लिएर बस्दै आइरहेकोमा श्रीमान्ले त्यही बजारमा सैलुन सञ्चालन गरिरहेका छन् । धनमाया दिनभर छोरी स्याहार गरेर कोठामै बस्छिन् ।

                                                ०००

धनमायासँगै एउटै घरमा डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका– ४ खुम्चेरीकी २८ वर्षीया विवाह खड्काकी १५ महिनाकी छोरी ख्याउटे छिन् । उनी राम्ररी हिड्न सक्दिनन्, रोइराख्छिन् र बिरामी भइरहन्छिन् । उनी ख्याउटे अवस्थामा नै जन्मिएकी हुन् । उनले छोरीलाई जति खुवाउँदा पनि नमोटाएकोे बताइन् । ‘कुपोषणको पनि उपचार हुन्छ र ? अनि कहाँ लैजानुपर्छ ?’ उनले भनिन् । उनले छोरी आठ महिनाकी हुँदा स्वास्थ्य संस्थाबाट ल्याएको लिटो तीन महिनासम्म खुवाएको तर शरीरमा कुनै फरक नदेखिएको बताइन् । 

                                                  ०००

सानीभेरी गाउँपालिका– ९ मगरराङ्जाकी २३ वर्षीया कमला परियारले करिब १४ महिनाअघि तेस्रो सन्तानका रूपमा छोरी जन्माइन् । उनकी छोरी यमुनाको तौल जन्मिँदै कम थियो । अहिले उनको तौल ६ केजी छ । निरन्तर बिरामी भइराख्ने र पखाला लाग्ने भएपछि कमलाले छोरीलाई १७ माघमा गाउँपालिका अस्पताल छोटेबगर लगिन् । चिकित्सकसँग जाँच गराएपछि मात्र उनले छोरी कुपोषित भएको उनले थाहा पाइन् ।

१५ वर्षको उमेरमा विवाह गरेकी कमलाले तीन सन्तान जन्माइसकेकी छिन् । पहिलो सन्तान जन्मेको केही दिनमै बिते । अहिले उनका पाँच वर्षको छोरा भुवन र १४ महिनाकी छोरी यमुना छन् । सुत्केरी भएपछि कमलाले पोषण र स्याहार पनि पाइनन् । उनका श्रीमान् घरमै कपडा सिलाउने र ज्याला मजदुरी गर्ने गर्छन् । कमलाको नागरिकता नभएकाले उनका छोरा र छोरीको पोषण भत्ता उनकी सासू छली दमाईंको नाममा आउँछ । तर, पोषण भत्ताबापत आउने रकम कहाँ र कसरी खर्च भइरहेको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताइन् ।

                                                   ०००

अछामको ढकारी– ६ की धना विकले गर्भवती हुँदा कहिल्यै आराम पाइनन् । चौथो सन्तानकी आमा धनाको कान्छो छोरा जनकको उमेर दुई वर्ष नाघ्यो । उनको तौल जम्मा नौ किलो छ । ‘छोरो गर्भ हुँदा पनि पिठ्युँमा भारी बोक्नै पर्छ, राम्रोसँग खान पाइनँ,’ धनाले भनिन् । चौरपाटी– ६ की सत्यदेवी साउदको अनुभव पनि उस्तै छ । ‘दुई छोरी छन्, अर्को बच्चा पेटमा छ । अहिले पनि अरू वेलाजस्तै घाँसदाउरा गर्छु,’ भर्खरै २३ वर्ष पुगेकी उनले भनिन् । सानै उमेरमा विवाह गर्ने, परिपक्व नहुँदै गर्भवती हुने, अत्यधिक कार्यबोझ र पोषिला खानेकुरा नपाउँदा बच्चाहरूलाई गर्भमै कुपोषणले हुने गरेको छ ।

बढ्दो कुपोषण : रुकुम पश्चिममा गत आवमा तीन हजार तीन सय आठ बच्चा जन्मिएकामा एक सय ९४ कुपोषित थिए । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीका अनुसार शिशु जन्मिँदा सामान्यतया अढाई केजी हुनुपर्नेमा रुकुम पश्चिममा कम तौलका कुपोषित छन् । त्यसमध्ये पनि जन्मिँदा सामान्य नै रहे पनि पछि कुपोषित हुने बालबालिका पनि भएकाले यो संख्या अझै बढ्ने उनले बताए । स्वास्थ्यको तथ्यांकअनुसार रुकुम पश्चिममा जन्मेदेखि ११ महिनासम्मका कम तौलका १.३ प्रतिशत (५० जना), जन्मेदेखि २३ महिनासम्मका १.८ प्रतिशत (४४ जना), ६ देखि ५९ महिनासम्मका कडा कुषोषित बालबालिकाको संख्या १ सय ३० छ । 

आव ०७६/०७७ मा ३३ बालबालिकामा कडा कुपोषण देखिएकोमा ०७७/०७८ मा ४६ जना थपिएका थिए । यो स्वास्थ्य संस्थामा जन्मिएका मात्र बालबालिकाको तथ्यांक भएकाले घरमै जन्मिएका कुपोषितको संख्या अझै धेरै हुन सक्ने ओलीले बताए । सिम्रुतु स्वास्थ्य चौकीका इन्चार्ज नवीन खड्काले बालबालिका बारम्बार बिरामी परेपछि मात्र परिवारका सदस्यले ढिलो गरी स्वास्थ्य संस्था ल्याउने गरेको बताए । ‘महिनामा २–३ ख्याउटे बालबालिका उपचारका लागि आइरहेका हुन्छन् । सुरुमै कुपोषणको लक्षण देखिए पनि धेरै नै बिरामी परेपछि मात्र परिवारका सदस्यले बालबच्चालाई स्वास्थ्य संस्था ल्याउने गरेका छन्,’ उनले भने, ‘जाँँच्दा कुपोषण पुष्टि हुने गरेको छ ।’ कुपोषण पुष्टि भएपछि पनि नियमित रूपमा उपचार नगर्ने गरेको उनको भनाइ छ । 

कम उमेरमै आमा कुपोषणको मुख्य समस्या : रुकुम पश्चिममा वार्षिक कुल गर्भ जाँच गराउने गर्भवतीमध्ये २० वर्षमुनिको संख्या उच्च छ । स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार ०७७ साउनदेखि ०७८ असारसम्म ६ हजार ७ सय ७० ले गर्भ जाँच गराएकोमा २० वर्षमुनिकाको संख्या २ हजार ९ जना छ । ०७८ को साउनदेखि ०७९ असारसम्ममा कुल ५ हजार ६६ जनाले गर्भजाँच गराएकोमा १ हजार ३ सय ८१ गर्भवती २० वर्षमुनिका छन् । 

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले कर्णाली प्रदेशमा आमामा नै कुषोषणको समस्या रहेको बताए । ‘कुपोषित आमाले कुपोषित बच्चा नै जन्माउने हुन्,’ डा. केसीले भने । उनले आमामा लगानी नगरेसम्म बाल कुपोषण अन्त्य गर्न नसकिने बताए । डाक्टर केसीका अनुसार बालविवाह, कम उमेरमै बच्चा जन्माउनु, गरिबी, अशिक्षा, पोषिलो खानेकुराको अभावलगायत कारण आमाहरू कुपोषणको सिकार भइरहेका छन् । उनले आमा स्वस्थ भएमा छोराछोरीको राम्ररी हेरचाहमा हुन सक्ने बताए । 

अछाममा आठ महिनामा ६४ शिशुको मृत्यु : कुपोषणका कारणले अछाममा आठ महिनामा ६४ नवजात शिशुकोे मृत्यु भएको छ । तीमध्ये ५० पेटमै मृत थिए भने १४ नवजात शिशुको जन्मेको एक हप्ता नपुग्दै मृत्यु भएको हो । अछाममा साउनदेखि फागुनसम्म तीन हजार १६ सुत्केरी भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । यो अवधिमा कुपोषित अवस्थाका जन्मिएका दुई ४२ को शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रममार्फत उपचार गरिएको छ । तीमध्ये एक सय ६३ मध्यम कुपोषित र ७९ मा अति कुपोषणको समस्या थियो । कुपोषितको तौल साढे दुई र अति कुपोषितको तौल डेढ किलोसम्म मात्र थियो ।

अघिल्लो आव ०७८/७९ मा चार हजार ६ सय ६६ ले सुत्केरी हुँदा एक सय ७४ शिशुको मृत्यु भएको थियो । जसमा पेटभित्र ८६ जना मृत भेटिएका थिए भने १८ नवजातको केही समयपछि मृत्यु भएको हो । यो आवमा एक सय ९८ कुपोषित बच्चा जन्मिएका थिए । तीमध्ये १२ अति कुपोषित स्थितिका थिए । ०७७/७८ मा अछाममा २ सय ८६ बच्चा कुपोषित जन्मिए भने अन्य ३४ जना अति कुपोषित अवस्थाका थिए ।

०७७/७८ मा पाँच हजार पाँच सय २० सुत्केरी भएकामा ३१ नवजात शिशुको मृत्यु भएको थियो । तीन आर्थिक वर्षमा विभिन्न कारणले सुत्केरी हुन नसकेर ६ आमाले ज्यान गुमाएका छन् ।

०७८/७९ मा गर्भजाँच गराउने २० वर्षमुनिका आमाको संख्या ५ सय ५५ छ भने यो आर्थिक वर्षको फागुनसम्म ३ सय २२ जना किशोरीले गर्भ जाँच गराएका छन् ।शारीरिक परिपक्व नभई किशोरावस्थामै बच्चा जन्माउँदा दुवै कुपोषित हुने र पाठेघर खस्नेलगायतका समस्या देखिने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए । ‘कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु कुपोषित हुने समस्या त छँदै छ । यसले पोषणको अवस्थामा सुधार ल्याउनसमेत चुनौती थपेको छ,’ डा. जोशीले भने । 

बालविवाह ७५.२६ प्रतिशत : जनगणना ०७८ अनुसार रुकुम पश्चिममा बालविवाह ७५.२६ प्रतिशत छ । कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर, यहाँ १६–१७ वर्षको उमेरमै बच्चा जन्मिसक्छन् ।

जनगणना तथ्यांकअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ६६ हजार ७ सय ४० मध्ये ६६ हजार ५ सय ९० जनाले २० वर्षभन्दा कम उमेरमै विवाह गरेको देखिन्छ ।

राष्ट्रिय जनगणना–२०७८ ले देखाएको तथ्यांक

- १० वर्षमुनि ०.३ प्रतिशत, १० देखि १४ वर्षमा ७ प्रतिशत र १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह गर्नेको संख्या ३४.४ प्रतिशत छ । समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष रहेको पाइयो । तर, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले भन्छ, ‘२० वर्ष नपुगी कसैले विवाह गर्न गराउन मिल्दैन ।’

- राष्ट्रिय जनगणना– २०७८ अनुसार १५ देखि ४९ वर्षका विवाहित महिला ६१ लाख ४५ हजार ३९ ले एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन्  । जीवित जन्मेकामध्ये ३.२ प्रतिशत (चार लाख १५ हजर ८७९) को मृत्यु भएको छ । विवाहितमध्ये १२ प्रतिशतले एउटा पनि जीवित बच्चा जन्माएका छैनन् । एक मात्र जीवित जन्माएका विवाहित महिलाको संख्या २३ प्रतिशत छ भने नौ वा सोभन्दा धेरै जीवित बच्चा जन्माएका महिलाको संख्या ०.१ प्रतिशत छ ।

- कुल प्रजनन उमेर समूह (१५–४९) का १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित छ । गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ । 

- जनगणनाको सन्दर्भ अवधि अर्थात् १२ महिनामा चार लाख १२ हजार ९३५ जीवित बच्चाको जन्म भएकामा मातृ मृत्युदर १५१ जना (प्रतिलाख जीवित जन्ममा) छ । 

See More On

सुझावित समाचार