‘बी’ डिभिजन क्लबको सांकेतिक विरोध

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

सहिद स्मारक ‘बी’ डिभिजन लिग पूर्वघोषित समयमा आयोजना हुन नसकेपछि सहभागी क्लबले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको सांकेतिक विरोध गरेका छन् । एन्फाले दोस्रोपटक मिति परिवर्तन गर्दै २९ चैतबाट बी डिभिजन लिग आयोजना गर्ने प्रतिबद्धता गरेको थियो । गत वर्षको १७ फागुनमा बसेको एन्फाको कार्यसमिति बैठकले २९ चैतमा लिग आयोजना गर्ने निर्णय गरेको थियो । 

तर, वैशाख पहिलो सातासम्म पनि एन्फाले लिग गर्ने वा नगर्ने सम्बन्धमा प्रतिक्रिया नजनाएपछि क्लबले च्यासल मैदानमा विरोध जनाए । सहिद स्मारक ए डिभिजन लिगको ६०औँ खेलमा संकटा र एपिएफ फुटबल क्लबबीच च्यासल मैदानमा भएको थियो । सहभागी क्लबहरूले प्लेकार्डसहित ‘बी डिभिजन लिग खै ?’ भनी एन्फासँग प्रश्न राखेका छन् । ‘एन्फाले आफैँ दुईपटक मिति परिवर्तन गरेको छ, लिग कहिले हुन्छ ?’ सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले भने, ‘त्यसैको विरोधस्वरूप हामीले सांकेतिक प्रदर्शनसँगै सुझाव दिएका हौँ ।’

क्रिकेट ब्याट देखाएर विरोध
फुटबलको माहोल घट्दै गर्दा नेपाली खेलकुदमा क्रिकेटको माहोल उत्साहजनक छ । खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै क्रिकेट टोलीले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो । नेपालले चार वर्षलाई एकदिवसीय मान्यता रक्षा गरेको छ । घरेलु मैदानमा एसिसी प्रिमियर कप आयोजना मंगलबारबाट हुँदै छ । फुटबल मैदानमा दर्शक कम हुँदै जाँदा क्रिकेट मैदानमा समर्थक व्यवस्थित गर्न नियामक निकायलाई हम्मेहम्मे परेको छ । 

एन्फाले दुईपटक मिति परिवर्तन गर्दा पनि सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना गर्न सकेको छैन । सहभागी क्लबहरूले आइतबार ‘ए’ डिभिजन चलिरहेको च्यासल मैदानमा पुगेर सांकेतिक विरोध जनाए ।

सांकेतिक विरोधमा च्यासल मैदानमा उत्रिएका फुटबल पदाधिकारीहरूले क्रिकेटको ब्याट देखाएका थिए । ब्याटमा उनीहरूले ‘बी डिभिजन लिग ?’ भनेर प्रश्न गरेका छन् । विरोध सभामा १४ मध्ये १३ क्लबको प्रतिबद्धता छ । ‘निर्धारित समयमा लिग नहुँदा क्लबहरूलाई समस्या भएको छ । महिनौँदेखिको अभ्यास, खाना तथा यातायात खर्च धान्न नसक्ने अवस्थामा पुगेका छौँ, यसको क्षतिपूर्ति एन्फाले दिनुपर्छ,’ पराजुलीले थपे । 

०७९ असार पहिलो साता एन्फाको अध्यक्षमा निर्वाचित भएपछि पंकजविक्रम नेम्वाङको नेतृत्वले गत १५ चैतमा बी डिभिजन लिग हुने घोषणा गरेको थियो । तर, क्लबहरूको बाँकी बक्यौता रकम र तयारी खर्च दिन नसकेपछि लिग दोस्रोपटकलाई सरेको थियो । एन्फाले तयारी खर्च १४ लाख ५० हजार रुपैैयाँ दिने बताएको थियो । दोस्रोपटकमा समेत क्लबहरूले तयारी खर्च र बक्यौता रकम पाएका छैनन् । क्लब र एन्फाको सम्झौताअनुसार लिग सुरु हुन ४५ दिनअघि नै सबै रकम उपलब्ध गराउनुपर्छ । 

‘एन्फाले लिग गर्ने वा नगर्ने प्रस्ट पार्नुपर्यो, एक प्रकारले एन्फा नेतृत्व अहिले प्रश्नबाट भागेको छ,’ पराजुलीले भने । सहभागी क्लबहरूले एन्फाले लिगको टुंगो र समाधान नगरे विरोधको शैली थप कडा हुने उनको भनाइ छ । उनीहरूले लिगको पिरामिडलाई एन्फाले बिगार्न खोजेकोसमेत आरोप लगाए । 

 संकटा नौ खेलाडीमा सीमित
एन्फाको गम्भीर लापर्बाही र खराब व्यवस्थापनका कारण आधा घन्टा ढिला गरी भएको ए डिभिजन खेलमा आइतबार संकटाले एपिएफलाई १–० ले पराजित गरेको छ । खेलसमेत निकै विवादास्पद रह्यो । खेलअघि खेलाडीको जर्सी र मध्यान्तरमा मोजाको रङ नमिलेपछि खेल केही समय रोकिएको थियो । संकटा अन्तिम समयमा नौ खेलाडीमा  सीमित भयो ।

एपिएफ १० खेलाडीमा पुग्यो । दोस्रो हाफमा दुवै टोलीका खेलाडी एक–अर्काविरुद्ध झगडा गर्न उत्रिएपछि रेफ्री नवीन्द्र महर्जनले तीन रातो कार्ड देखाएका थिए । संकटाका मनीष डाँगी र विदेशी खेलाडी आन्द्रे थियरी वियिकसँगै एपिएफका दिपेश धिमालले रातो कार्डको सामना गरे । एपिएफका दिपेश र संकटाका मनीषले एकआपसमा लडाइँ गर्दा ६९औँ मिनेटमा रातो कार्ड पाए । रेफ्रीमाथि अपशब्द बोलेपछि दोहोरो पहेँलो कार्डको सिकार भएका वियिकले ७६औँ मिनेटमा मैदान छाड्न पुगे । 

खेलको २९औँ मिनेटमा अर्का विदेशी खेलाडी जुनियर ओनगुइनले गरेको गोल नै निर्णायक बन्यो । एपिएफका रक्षक एडामा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । जितपछि संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारसहित १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एपिएफ नवौँ स्थानमा छ । अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन् । 

सुझावित समाचार