राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। सोमबार संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेले करोडौँ लिएर मन्त्री बनाउने गरेको आरोपलाई अस्वीकार गरे।
पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउनका लागि साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको उनको जिकिर छ। नेपाली कांग्रेसमा आबद्धहरूले सभापति रविले शिक्षामन्त्री बनाउन ८ करोड लिएको भनेर ट्विटरमा लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गर्न चुनौती दिए।
चुनावका वेला यस्तो स्टन्ट भएको आरोप लगाउँदै सांसद झाले आरोप लगाउने कांग्रेसभित्र नै त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको उनले दाबी गरे। ‘त्यसमा म विश्वास गर्दिनँ। त्यो स्ट्याटस लेखेर चुनावका वेलामा स्टन्ट गर्ने हो भने कति दाइ भाउजूले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि। हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले? म चुनौती गर्न चाहन्छु,’ उनले भने।