प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चार प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच एआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार चारैजनाको पदोन्नति भएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भ्रातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गरे।
प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्ने उल्लेख गर्दै माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए। साथै सम्भावित अराजकतालगायतका कानुनविरुद्धका गतिविधिको आकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतलाई निर्देशनसमेत दिए।
समारोहमा पदोन्नति भएकाको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यबोधको थप ऊर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिबद्ध रहने विचार व्यक्त गरे।