राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा- २ मा उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरुद्धमा एक हुनुको विकल्प नरहेको बताएका छन्। शनिबार रास्वपा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
सरकारको भागबन्डा र लुछाचुँडी अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको खरेलले जिकिर गरे। सरकारको भागबन्डा र लुछाचुँडी रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताउँदै उनले आफूहरूलाई अल्मलिने छुट नरहेको बताए।
‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ। तर, अब हामीसँग अल्मलिने छुट छैन। हामी अल्मलिनुहुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ। देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ। हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ। हामीले सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन,’ उनले भने।