अति महत्वाकांक्षी अउकस सम्झौता

सन् २०२१ मा अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच सम्पन्न त्रिदेशीय सुरक्षा सम्झौताअन्तर्गत अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बीहरू प्राप्त गर्न सहयोग गर्छ

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

सन् १९०८ मा कथित ग्रेट ह्वाई फ्लिट (महान् श्वेत जलसेना)को एसिया परिभ्रमण तथा विश्व परिक्रमाकै हिस्साका रूपमा द्वितीय अमेरिकी युद्धपोत ‘युएसएस मिसौरी’ले सान फ्रान्सिस्कोबाट सिड्नीसम्मको यात्रा तय गरेको थियो । यसैको उत्तराधिकारी तृतीय ‘युएसएस मिसौरी’ले जापानलाई द्वितीय विश्वयुद्धको समय सन् १९४५ मा आत्मसमर्पण गराएको थियो ।

 केही दिनअघि १३ मार्चमा भर्जिनिया–क्लास (श्रेणी)को आक्रमण पनडुब्बी ‘चतुर्थ युएसएस मिसौरी’ प्रशान्त महासागरमा अमेरिकी जलसैन्य शक्तिको गर्विलो नामसहित खडा थियो । सान डिएगोको समुद्री किनारामा एक घमाइलो मध्याह्न अमेरिका, अस्ट्रेलिया र बेलायतका नेताहरू जो बाइडेन, एन्थोनी अल्बानिस र ऋषि सुनक यसै पनडुब्बी मिसौरीको सामु भेला भए र १८ महिनाअघि आ–आफ्नो देशले हस्ताक्षर गरेको अउकस (एयुकेयुएस) सम्झौताको अर्काे अध्याय सार्वजनिक गरे । यो सम्झौताले प्रशान्त क्षेत्रमा अमेरिका र बेलायतको संलग्नतालाई थप प्रगाढ बनाउनेछ र यी तीन सहयोगीलाई सन् २०४० को दशक र त्यसपछि पनि अभूतपूर्व रूपले एकसाथ उभ्याउनेछ ।

यो कथा अष्ट्रेलियाले आफ्ना पुरानिँदै गएका पनडुब्बीहरूलाई एक दर्जन फ्रान्सेली डिजेल–इलेक्ट्रिक पोतहरूले प्रतिस्थापन गर्ने ३३ अर्ब डलरको सम्झौतामा सहमति जनाएपछि सुरु भएको हो । चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै सन् २०२१ मा उसले त्यो सम्झौता खारेज गर्यो र ठूलो तामझामसाथ अउकसमा हस्ताक्षर गर्यो ।

यो सम्झौताअनुसार अमेरिका र बेलायतले आणविक शक्ति सञ्चालित (आणविक हतियारले लेस भने होइन) कम्तीमा आठ पनडुब्बीको बेडा खडा गर्न अष्ट्रेलियालाई सहयोग गर्नेछन् । इलेक्ट्रिक पोतहरूभन्दा यी धेरै स्टिल्थ (पत्ता लगाउन कठिन), लामो रेन्ज र लामो समय पानीमुनि रहन सक्ने सामथ्र्य युक्त हुन्छन् । यी धेरै जटिल पनि हुन्छन् । अहिलेसम्म ६ देशसँग मात्र आणविक शक्ति सञ्चालित पनडुब्बी छन् र अमेरिकाले अहिलेसम्म बेलायतसँग मात्र आफ्नो पनडुब्बी प्रविधि सेयर गरेको छ ।

धेरैले अस्ट्रेलियाको भावी पनडुब्बी अमेरिकाका वर्तमान भर्जिनिया–क्लास वा यसका उत्तराधिकारीमा आधारित हुने अपेक्षा गरेका थिए । तर, बाइडेन, अल्बानिस र सुनकले यो बेलायतको भावी आक्रमण पनडुब्बीमा आधारित हुने तथ्य सार्वजनिक गरेका छन् ।

बेलायतले बनाउन खोजेको एसएसएनआर नामक पनडुब्बी हो (परम्परागत हतियार बोक्ने पनडुब्बीहरूलाई एसएनएस भनिन्छ भने एसएसबिएनस पनडुब्बीहरूचाहिँ ब्यालेस्टिक मिसाइल र आणविक हातहतियारले सुसज्जित हुन्छन् )। बेलायतले पहिलो यस्तो पनडुब्बी बेलयतको उत्तर–पश्चिम बरोमा निर्माण गर्नेछ । अष्ट्रेलियाले यही नमुनाबाट सिकेर एडेलेयडमा आफ्नो पनडुब्बी बनाउनेछ । यो अस्ट्रेलियन लगानीले बेलायती जहाज निर्माण क्षमतालाई अभिवृद्धि गर्ने र समग्रमा दुवै देशको लागत कम गर्दै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने विचारबाट अभिप्रेरित योजना हो । 

अउकसको कार्यान्वयनसँगै अस्ट्रेलियाका बन्दरगाह, सैन्य अखडा र पनडुब्बीहरू अमेरिकी युद्ध योजनामा चल्नेछन् । यसले अस्ट्रेलियालाई यी योजनाहरूको प्रभाव र लाभ दुवै प्रदान गर्नेछ । सम्झौताअन्तर्गत तीनै देशका रक्षा उद्योगहरू अभूतपूर्व स्तरमा आपसमा संलग्न हुनेछन् ।

नयाँ एसएसएन–अउकसमा अमेरिकी प्रविधिको प्रधानता रहनेछ । यसमा जडान गर्न अमेरिकाले आफ्नो भर्टिकल लन्चिङ सिस्टम (सीधा ठाडो प्रक्षेपण प्रणाली) उपलब्ध गराउनेछ । भर्टिकल लन्चिङ प्रणाली धेरै संख्यामा मिसाइलहरू राख्न सकिने प्रणाली हो र यो परम्परागत टोर्पेडो ट्युब्सभन्दा निकै उन्नत हुन्छ ।

अहिले कुनै पनि बेलायती आक्रमण पनडुब्बीमा यस्तो क्षमता छैन । यस सम्झौताअन्तर्गत तिनै मुलुकका रक्षा उद्योगहरू अभूतपूर्व स्तरमा आपसमा संलग्न हुनेछन् । सञ्चार उपकरण, पानीको सतहमाथि र मुनि दूरी मापन तथा नेभिगेसनमा प्रयोग हुने सोनार प्रविधिका साथै अग्नि नियन्त्रणजस्ता उपप्रणालीलाई पनि तिनै मुलुकबीच अनुकूल बनाउनु पर्नेछ । सम्झौतामा संलग्न एक अधिकारीले भने, ‘हामी लगभग एउटा संयुक्त आणविक पनडुब्बी बेडा हुनेछौँ ।’ अर्काले थपे, ‘यो एक आकर्षक, मिश्रित पनडुब्बी हुनेछ ।’

तर, उन्नत पनडुब्बीहरू उत्पादन गर्न १०औँ वर्ष लाग्छ । हालका अष्ट्रेलियन पोतहरू करिब ३० वर्ष पुराना छन् र तिनलाई सन् २०३० को दशकको सुरुवातताका नै सेवानिवृत्त गर्नु पर्नेछ । पहिलो एसएसएन–अउकस (पनडुब्बी) सन् ०४० को दशकको सुरुअघि अस्ट्रेलियाको हातमा पर्नेछैन ।

अमेरिकी नौसेनामा पनडुब्बी कमान्डिङ अफिसरहरू उत्पादन गर्न कम्तीमा १५ वर्ष लाग्ने गरेको छ भन्छन् टम सुगार्ट । उनी पनि यसरी नै पनडुब्बी कमान्डिङ अफिसर बनेका थिए । उनका अनुसार पनडुब्बीलाई अघि धकेल्ने आणविक प्रणालीको प्रयोग कसरी गर्ने, कसरी दुरुस्त स्थितिमा राख्ने भनेर अधिकारीहरूलाई दिइने प्रशिक्षणको जटिलताका कारण पनि अधिकारीलाई तयार गर्न लामो समय लाग्ने कारण हो । विश्वकै सबैभन्दा ठूलो चीनको नौसेना खतरनाक देखिन्छ । यो कमी पूरा गर्न यी तिनै मुलुकले दुइटा कदम चाल्ने घोषणा गरेका छन् ।

पहिलो, सन् २०२७ को सुरुसम्ममा अमेरिका र बेलायतले प्रशान्त महासागरमा आ–आफ्ना पनडुब्बी तैनाथ गर्नेछन्, जसलाई केही अधिकारीले पूर्वी युरोपमा नाटोका बख्तरबन्द युद्ध समूहहरूको ‘अग्रमोर्चामा बढ्दो उपस्थिति’ त कसैले ‘आलोपालो तैनाथी’ भनेका छन् । एक अधिकारीका अनुसार एसियामा हरबखत अमेरिकाका २–४ सम्म आक्रमण पनडुब्बी रहने गरेको छ ।

नयाँ सेटअपअन्तर्गत पर्थनजिकैको स्टर्लिङमा अष्ट्रेलियन युद्धपोतसँगै भर्जिनिया–क्लासका चार थान पनडुब्बी तैनाथ रहनेछन् । यो निकै ठूलो र सापेक्षिक रूपले खुला कदम भएकाले पनडुब्बी तैनाथीबारे पूर्ण गोपनीयताको लामो समयदेखिको नीति अन्त्य गर्नु आवश्यक हुनेछ । बेलायतले आफ्नो केवल सातवटा पनडुब्बीको बेडामध्ये पालैपालो ‘एस्टुट क्लास’को एउटा पनडुब्बी तैनाथीमा पठाउने योजना बनाएको छ । अस्ट्रेलियन नाबिकहरू अहिले नै अमेरिकी र बेलायती पनडुब्बीहरूसँग आबद्ध हुन थालिसकेका छन् ।

दोस्रो, कंग्रेसले अनुमोदन गरेको खण्डमा सन् २०३०को दशकको सुरुवातमै अष्ट्रेलियाले अमेरिकाबाट भर्जिनिया–क्लासका तीन थान पनडुब्बी सहुलियत दरमा खरिद गर्नेछ । साथै, एसएसएन–अउकस तयार नहुँदासम्म अन्तरिम युद्धपोतका रूपमा प्रयोग गर्न थप दुइटा पनडुब्बी भाडामा लिन सक्ने विकल्प पनि उसलाई उपलब्ध हुनेछ । पनडुब्बी भाडामा दिन अमेरिका सहमत हुनु नै आश्चर्यजनक छ । आणविक पनडुब्बी भाडामा लेनदेन दुर्लभ घटना हो । अहिलेसम्म केवल रुसले मात्र भारतलाई भाडामा आफ्नो पनडुब्बी दिएको छ ।

अस्ट्रेलियाले ६० जनाभन्दा कम जनशक्ति चाहिने मौजुदा पनडुब्बीहरूलाई नै चालक दल पुर्याउन संघर्ष गरिरहेको छ । भर्जिनिया–क्लासलाई १४० वा त्योभन्दा धेरै जनशक्ति चाहिन्छ । अझ महत्वपूर्ण त के भने अमेरिकाको नौसेना अझै पनि चीनसँगको प्रतिस्पर्धामा भर्जिनिया–क्लासका पनडुब्बीको संख्या पुर्याउन संघर्षरत छ ।

यो समस्याको गाँठो फुकाउन अष्ट्रेलियाले अमेरिकी सिपयार्डहरूमा अर्बाैं डलर लगानी खन्याउने अपेक्षा गरिएको छ । त्यसो हुँदासमेत पनडुब्बी भाडामा दिने कुरामा थुप्रै कंग्रेस सदस्य असन्तुष्ट हुन सक्छन् । साथै यसका लागि अमेरिकी विधायकहरूले निकटतम सहयोगीहरूलाई समेत उच्च प्रविधिको निर्यातमा कडा प्रतिबन्ध लगाउने ‘इन्टरनेसनल ट्राफिक इन अम्र्स रेगुलेसन’ पनि संशोधन गर्नुपर्ने हुन सक्छ । 

यसका अप्ठ्याराहरू धेरै छन् । यो परियोजना पूरा हुन यसले बाइडेनको वर्तमान कार्यकालबाहेक कम्तीमा अरू तीन राष्ट्रपतीय कार्यकाल र तीनभन्दा धेरै बेलायती आमचुनाव गुजार्नु पर्नेछ । अहिले तीनै देशमा सत्ता र विपक्षी दुवैको अउकसमा समर्थन भए पनि यो निकै कठिन परीक्षा हुनेछ ।

एक ताजा आकलनअनुसार अस्ट्रेलियालाई आगामी ३२ वर्षमा यसको लागत एक खर्ब ८० अर्बदेखि दुई खर्ब ४५ अर्ब डलर पर्नेछ, आगामी दुई वर्षको ६ अर्ब डलरसहित । साथै, यसका लागि अस्ट्रेलियालाई आवश्यक दक्ष जनशक्ति र अणविक विशेषज्ञता विकास गर्नु पनि निकै कठिन हुनेछ । ‘यसका लागि सम्भवतः १०० वर्षे लाग्न सक्छ,’ एडेलेयड राजधानी रहेको दक्षिण अष्ट्रेलियाका प्रधानमन्त्री पिटर मालिनाउस्कासले १० मार्चमा टिप्पणी गरेका थिए ।

तर यसको प्रतिफल भने उच्च हुनेछ । बन्द गरौँ कि खोलौँ को स्थितिमा पुगेको बेलायतको पनडुब्बी उद्योगका लागि मात्र होइन कि हिन्द–प्रशान्ततर्फ झुक्न खोजिरहेको बेलायती सरकारका लागि समेत यसले वास्तविक आधारशिला प्रदान गर्नेछ । आलोचकहरूले युरोपमा युद्ध चलिरहेको समयमा एसियामा नौसैन्य शक्ति विस्तारमा जोड दिएर सुनकले द्वैध चरित्र देखाएको भनेर प्रश्न उठाएका छन् ।

१० मार्चमा उनले फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँसँग हिन्द–प्रशान्त क्षेत्रमा स्थायी युरोपेली सामुद्रिक उपस्थितिको मेरुदण्ड स्थापना गर्ने सहमति जनाए । १३ मार्चमा सुनक सरकारले चीनबाट युगीन चुनौती खडा भएको निष्कर्षसहित विदेश नीतिको समीक्षा प्रकाशित गर्यो । एसियामा पनडुब्बीको गस्ती लगाउने र एसियाली सहयोगी (जापान)सँग मिलेर एउटा नयाँ युद्धपोत बनाउने निर्णयले उनको झुकाबलाई थप दीर्घकालीन टेको दिएको छ ।

अमेरिकाका लागि अउकस र यससँग सम्बन्धित सम्झौताहरू एसियाली सहयोगीहरूको निरन्तर सुदृढीकरणको नवीनतम र सबभन्दा नाटकीय कदम हो । उसले जापानलाई सयौँ क्रुज क्षेप्यास्त्रहरू बेच्दै छ र जनवरीमा ओकिनावामा समुद्री रेजिमेन्ट राख्न सहमत भएको थियो । फेब्रुअरीमा उसले फिलिपिन्समा थप चार सैन्य आधार शिविरमा पहुँच प्राप्त गर्यो । अउकसले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम सिस्टम र हाइपरसोनिक मिसाइलजस्ता उन्नत प्रविधिमा सहयोग र सहकार्यको दोस्रो ‘स्तम्भ’लाई पनि समावेश गर्छ । साथै, यो अमेरिका र अष्ट्रेलियाको प्रतिरक्षा सम्बन्धमा व्यापक वृद्धिकै एक हिस्सा हो ।

अमेरिकाको अष्ट्रेलियामा निकै ठूलो सैन्य लगानी छ । इन्धन र गोलाबारुधको भण्डार बढाउन र आफ्ना लामो दूरीका बमवर्षकहरूलाई अधिकांश चिनियाँ क्षेप्यास्त्रको रेन्जबाहिरको अष्ट्रेलियाको उत्तरी क्षेत्रबाट सञ्चालनका लागि हवाई क्षेत्रहरू विस्तार गर्न अमेरिकाले ठूलो लगानी गरेको छ । पर्थका नौसैनिक अखडाहरूमा अमेरिकी र बेलायती पनडुब्बीको चक्रीय तैनाथीलाई सहयोग गर्न अस्ट्रेलियामा गरिएको लगानीले युद्धपोतहरूलाई गुआम वा हवाईका आधार शिविरमा नफर्काई नै मर्मतसम्भार र पुनः तैनाथीका लागि सक्षम गराउनेछ । यसले उसलाई शान्तिकाल र युद्ध दुवै समयमा सञ्चालनको उच्च तारतम्य कायम राख्न सक्षम पार्नेछ ।

सन् २०२० को एउटा प्रतिरक्षा समीक्षाले ठूलो युद्धको सम्भावना विगतको तुलनामा बढेर गएको र सरकारले आसन्न खतरालाई १० वर्षपछिको खतराका रूपमा पन्छाएर बस्न नहुने निष्कर्ष निकालेको थियो (अस्ट्रेलियाका पूर्वरक्षासचिव र सेनाप्रमुखले तयार गरेको प्रतिरक्षा समीक्षापत्र फेब्रुअरीमा सरकारलाई बुझाइएको भए पनि प्रकाशित भने गरिएको छैन) ।

वसिंगटनस्थित थिंक ट्यांक कार्नेगी इन्डउमेन्टका अस्टेलिया विज्ञ एस्ले टाउनसेन्डका अनुसार हालमा अस्ट्रेलियाले आफ्नो भूभागबाट एक सय ५० किलोमिटरभन्दा बढीको दूरीमा निसाना लगाउन र आफूलाई सुरक्षित राख्न सक्दैन । उनका अनुसार अस्ट्रेलियाली नेताहरूले दक्षिणपूर्वी एसिया वा दक्षिण प्रशान्तमा चिनियाँ सैन्य उपस्थितिलाई रोक्न वा पराजित गर्न चाहेको खण्डमा नयाँ पनडुब्बीहरूले क्षेत्रीय संकटमा उसलाई विकल्पहरू प्रदान गर्नेछ । तर, गतिशील स्ट्राइक फोर्स (मारक शक्ति)को कवचविना अष्ट्रेलियासँग यस्तो गर्ने आत्मविश्वास हुनेछैन । ‘यो रोयल अष्ट्रेलियन नेभीले कमान्ड गरेको र अस्ट्रेलियाकै सिपयार्डमा अष्ट्रेलियाकै जनशक्तिद्वारा निर्मित अस्ट्रेलियाको सार्वभौम शक्ति हुनेछ,’ अल्बानिजले जोड दिँदै भने । 

तर, अमेरिकी योजनाकारमा निर्भर रहने यो परिदृश्य ताइवानमाथिको व्यापक हमलामा भर पर्नेछ । बाइडेनले मिसौरीको अगाडि उभिएर भनेका छन्, ‘तीव्र गतिमा बदलिँदो विश्वव्यापी गतिशीलताबीच हिन्दप्रशान्त क्षेत्रको स्थिरता कायम राख्नु अउकसको मुख्य उद्देश्य हो ।’ सन् २०२१ मा अमेरिका र अष्ट्रेलियाबीच सम्पन्न भएको सम्झौतामा अष्ट्रेलियन सैन्य संरचनामा गरिएका सबै अमेरिकी लगानीको उद्देश्य यो क्षेत्रमा उच्चस्तरको युद्ध र संयुक्त सञ्चालनलाई सहयोग गर्नु भएको उल्लेख छ ।

दक्षिण र पूर्वी चीन सागरमा थप आठ क्षेप्यास्त्र प्रहारक पनडुब्बीको अर्थ चीनलाई ताइवान जलडमरु पार गरेर त्यहाँ सेना पुर्याउनु निकै कठिन हुनेछ भन्ने नै हो ।यसले डिटरेन्सलाई थप बल पुर्याउनेछ । साथै, यसले एसियामा एड्लोफोन (अंग्रेजीभाषी) सैन्य गठबन्धलाई पछाडि फर्किन नसक्ने बिन्दुमा विकास गरेको छ ।

सुझावित समाचार