जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्था घोषणा

सोमबार, ६ चैत, २०७९
डिजिटल संस्करण

जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’को घोषणा गरेको छ। कुवेती सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दाबग्दै गरेको पाइप घेरिएको देखिएको छ।

सरकारी स्वामित्वको उक्त कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको पश्चिमी भागमा तेल चुहिएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ।’

कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भने, ‘यो चुहावट जमिनमा भएको भए पनि आवासीय क्षेत्रमा नभएकाले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन।’

चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ। तर, अहिलेसम्म चुहावट कहाँबाट भएको भन्नेबारे थाहा भइनसकेको अल–अमेरले बताए। 

कुवेतको अल राई अखबारले ट्विटरमा एउटा भिडियो सार्वजनिक गरेको छ, जसमा एउटा पाइपबाट बाँझो जमिनमा ठूलो परिमाणमा तेल चुहेको देखिएको छ। यद्यपि एएफपीका संवाददाताले यो फुटेजलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बताएका छन्। 

कुवेत एक प्रमुख तेल उत्पादक देश हो, जहाँ सरकारले करिब ९० प्रतिशत राजस्व तेलबाट आर्जन गर्छ। पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक)को प्रमुख सदस्य राष्ट्रमध्ये एक कुवेतले हाल प्रतिदिन लगभग २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ।

कुवेत आयल कम्पनीले यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको जानकारी दिएको थियो। सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुईवटा चुवावटका घटना भएको कुवेती अधिकारीले बताएका छन्।

सुझावित समाचार