फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्यांकरबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् । १२२ जना बिरामी परेका छन्।
प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्यांकर आठ लाख लिटर क्षमताको थियो। त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन्।
डोलोरले स्थानीय रेडियोलाई बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ बासिन्दाहरूमा त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वाससम्बन्धी समस्या र बान्ता र पखाला भोगेका छन्।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् । उक्त तेल ट्यांकर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो । (राससकाे सहयाेगमा)