केही क्याम्पसमा तालाबन्दीपछि कञ्चनपुरमा स्ववियु निर्वाचन अन्याेलमा

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

डेढ दशपछि आगामी ५ चैत्रमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। चुनावकै मुखमा कञ्चनपुरका केही क्याम्पसमा तालाबन्दी भएको छ। क्याम्पस प्रशासनले निर्वाचनमा तदारुकता नदेखाएको भन्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान र त्रिविकै सम्बन्धन प्राप्त कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा शुक्रबार तालाबन्दी गरिएको हो। अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दलबहादुर धामीले निर्वाचन प्रक्रियामा ढिलासुस्ती गरेको र निर्वाचनको वातावरण नबनाएकाले तालाबन्दी गरेको बताए। अखिल कञ्चनपुरका सहसचिव धर्मराज जोशी पनि चुनावको वातावरण नबनाएपछि तालाबन्दी गरेको बताउँछन्। उनले भने, ‘हामीले तालाबन्दी गरेर क्याम्पस प्रमुख राजकुमार साउदको कुर्सीसमेत बाहिर फालिदियौँ। यो दबाबमूलक कार्यक्रम हो, ढिलासुस्ती गरे थप आन्दोलन गछौँ ।’

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक एवं संयुक्त विद्यार्थी संगठनका नेता भुवनसिंह विष्टले सिद्धनाथ विज्ञान क्याम्पस प्रशासनले चरम लापरबाही गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘वषौँपछि विद्यार्थीको हकहित हुने स्ववियु निर्वाचन हुँदै छ,’ उनले भने, ‘क्याम्पस प्रशासनबाट तदारुकता देखाइएन।’ सेटिङमा अमुक व्यक्ति र संगठनलाई जिताउने चलखेल भएको विष्टको आरोप छ। अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले क्याम्पस प्रशासन नै विद्यार्थीको हक हितविरुद्धमा देखिएकाले बाध्य भएर तालाबन्दी गरिएको जिकिर गरे।

कञ्चन विद्यामन्दिर सामुदायिक कलेजका प्रमुख डा. राजकुमार साउदले निर्वाचनका लागि क्याम्पस प्रशासनबाट कुनै कमी नभएको बताए। ‘हाम्रोतर्फबाट पूरै तयारी थियो,’ उनले भने, ‘विद्यार्थी आए, तालाबन्दी गरे। मेरै कुर्सी फालेर गए। अब यसरी कसरी तयारी गर्ने?’ सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख गजराम दमाईंले त्रिविले तोकेअनुरूप निर्वाचन कार्यतालिका अघि बढाएको बताए। ‘हाम्रो क्याम्पसबाट निर्वाचनका सबै प्रक्रिया अघि बढाएका छौँ। हामी कसैको पक्ष–विपक्षमा छैनौँ,’ उनले भने।

निर्वाचन हुने क्याम्पसमै तालाबन्दी भएपछि कञ्चनपुरमा स्ववियु निर्वाचन प्रभावित हुने भएको छ। शनिबार मनोनयन दर्ताअन्तर्गत केही क्याम्पसमा विद्यार्थी संगठनले मनोनयन दर्ता गराएका छन्। रौलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त तथा अखिलले एकल मनोनयन दर्ता गराएका छन्। अन्य क्याम्पसहरूमा समेत मनोनयन दर्ताका लागि विद्यार्थी संगठन लागिपरेका छन्।

सुझावित समाचार