नेपाल ट्रस्टको निर्णय : काठमाडौं प्लाजा महानगरलाई दिने

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषदबाट निर्णय भएको करिब तीन वर्षपछि कमलादीस्थित नेपाल ट्रस्ट स्वामित्वको काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई भाडा (लिज)मा दिने प्रक्रिया अघि बढेको छ । गत साता बसेको ट्रस्टको सञ्चालक समिति बैठकले भवन भाडामा दिनेसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

बोर्डबाट निर्णय भएलगत्तै सम्झौताका लागि ट्रस्टले महानगरपालिकालाई पत्राचार गरेको छ । मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने सर्तसहित सम्झौताका लागि पत्राचार गरिएको ट्रस्टका कार्यकारी सचिव सुरजकुमार वैद्यले बताए । ‘हामीले सर्तसहित १० वर्षका लागि भवन लिजमा दिन पत्राचार गरेका छौँ,’ उनले भने, ‘महानगरले यस विषयमा जानकारी दिएपछि सम्झौतामा हस्ताक्षर हुनेछ ।’ ट्रस्टको सर्तअनुसार हरेक दुई वर्षमा भाडा बढ्नेछ । 

उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने गरी असार ०७७ सालमै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको थियो । त्यसविरुद्ध व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएपछि पक्रिया रोकिएको थियो । गत २६ माघमा सर्वाेच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि भाडामा लिने प्रक्रिया अघि बढेको हो । 

उक्त भवन भाडामा लिएको कम्पनी कन्सेप्ट डेभलपर्स र त्यसअघि भवन लिजमा लिने सुवासराज काफ्लेले महानगरपालिकालाई भाडामा दिने निर्णयविरुद्ध रिट दायर गरेका थिए । डेढ वर्षपछि रिटको छिनोफानो भएको हो । मुद्दा–मामिलाका कारण काठमाडौं प्लाजा करिब तीन वर्षदेखि खाली छ । जसकारण ट्रस्टले करोडौँ रुपैयाँ गुमाइसकेको छ । २ असार ०७७ मा भाडा सम्झौता अन्त्य भएयता ट्रस्टले करोडौँ गुमाउँदै आएको छ । 

पुरानै सम्झौताअनुसार थामसेर्कुले भवन बनाउने
बोर्ड बैठकले ट्रस्टको ताहाचलस्थित जग्गामा भवन बनाउन नक्सापासका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । १४ मंसिर ०७४ मा थामसेर्कु ट्रेकिङ प्रालिसँग जग्गा भाडासम्बन्धी सम्झौता भए पनि हालसम्म भवन निर्माण सुरु हुन सकेको छैन । सो कम्पनीले सम्झौताविपरीत ११ तला भवन बनाउन खोजेपछि विवाद भएको थियो । हाल उसले ६ तला नै बनाउन सहमति माग गरेको छ । नक्सापासका लागि सहमति दिने निर्णय बोर्ड बैठकले गरेको कार्यकारी सचिव वैद्यले बताए । सम्झौताअनुसार काम नहुँदा ट्रस्टले भाडा पाउन सकेको छैन । नक्सा पास भएको तीन वर्षपछि मात्र ट्रस्टले भाडा पाउने गरी कम्पनीको पक्षमा सम्झौता हुँदा समयमा काम सुरु हुन नसकेको ट्रस्टका एक अधिकारी बताउँछन् । 

लाजिम्पाटको घरजग्गा मूल्यांकन गर्ने निर्णय
लाजिम्पाटस्थित ट्रस्टको घरजग्गा ३० वर्ष लिजमा दिन मूल्यांकन गर्ने निर्णय पनि बोर्डले गरेको छ । पर्यटनमन्त्री सुदन किराँती नेतृत्वको बैठकले यी निर्णय गरेको हो । ट्रस्टको सञ्चालक समिति सक्रिय नहुँदा ट्रस्टमातहतको महŒवपूर्ण सम्पत्तिको सदुपयोग हुन सकेको छैन । 

सुझावित समाचार