‘पिक एन्ड ड्रप’का कारण भित्री सहरमा सधैँ जाम
अधिकांश देशका ठूला सहरमा स्थानीय सरकारले सार्वजनिक यातायात र सहरी व्यवस्थापनमा निकै ठूलो लगानी र भूमिका निर्वाह गरिरहेका हुन्छन् । उपलब्ध सुविधाबाट पर्यटक र स्थानीयले कस्तो अनुभव गर्छन् भनेर सरकारहरूले सल्लाह–सुझाव लिइरहेका हुन्छन् । उनीहरूकै सल्लाह र सुझावअनुसार सुधार पनि गरिरहेका हुन्छन् ।
तर, नेपालको केन्द्रीय राजधानी काठमाडौंको अवस्था भने भिन्न छ । यहाँ न त व्यवस्थित सार्वजनिक यातायातको सुविधा छ, न यस्तो सुविधा दिन स्थानीय सरकार नै तत्पर छ । यहाँ एउटा स्थानीय बसपार्कसमेत छैन । काठमाडौं भित्रिनेबित्तिकै हरेकले भोग्नुपर्ने साझा सास्ती हो, सार्वजनिक सवारीसाधन । काठमाडौं महानगरपालिकाले न त यातायात व्यवस्थापन गर्न सकेको छ, न त बसपार्क निर्माण नै । महानगरभित्र चल्ने सवारीसाधन ‘पिक एन्ड ड्रप’का भरमा छन् ।
सिटी बसपार्क बनाउने योजना छैन : नवीन मानन्धर, प्रवक्ता काठमाडौं महानगर
महानगरका प्रवक्ता नवीन मानन्धरले ठाउँ अभावका कारण लोकल बसपार्क बनाउन नसकिएको जानकारी दिए । ‘हामीसँग बसपार्क बनाउने विकल्प नै छैन, त्यही रत्नपार्कको भ्युटावर बन्यो भने त्यहाँ नै बस पार्किङ गर्न मिल्छ,’ उनले भने, ‘लोकल बसपार्क भनेर बनाउन हामीसँग ठाउँ छैन ।’ उनले काठमाडौं महानगरमा भ्युटावरबाहेक अन्य सिटी बसपार्क बनाउने योजना नरहेको बताए । तर, असार ०७८ मै सकिनुपर्ने १२ तले भ्युटावर अहिलेसम्म पनि सकिएको छैन ।
महानगरको सिटी बसपार्क नहुनु लाजमर्दो
यातायातविज्ञ आशिष गजुरेल देशको राजधानीमा रहेको महानगरले सिटी बस र बसपार्क व्यवस्थापन गर्न नसक्नु लाजको विषय भएको बताउँछन् । सबैजसो देशका ठूला सहरमा व्यवस्थित र सहज सार्वजनिक यातायातको सुविधा हुने उनले बताए । ‘तर, हामीकहाँ सहरी यातायात र बसपार्क लाजमर्दो छ,’ उनले भने, ‘महानगरमा समेत यातायातको यस्तो हबिगत हुनु राम्रो होइन ।’
बसपार्कविहीन हुँदा काठमाडौं महानगरका सडक नै बसपार्कका रूपमा प्रयोग भइरहेका छन् । सोही कारण सडकमा नियमितजसो सवारी जामको समस्या हुन्छ । महानगरले रत्नपार्कस्थित पुरानो बसपार्कलाई सिटी बसपार्कका रूपमा प्रयोग गर्दै आएको थियो । तर, यो ठाउँमा अन्डरग्राउन्ड पार्किङसहितको भ्युटावर बनिरहेको छ । यहाँबाट हटेको बसपार्क खुला मञ्चमा सारिएको थियो । त्यहाँबाट पनि तीन वर्षअघि बसपार्क हटाइएको छ । अहिले काठमाडौं महानगरको आफ्नै सिटी बसपार्क छैन । यही कारण स्थानीय रुटका सवारीसाधन ‘पिक एन्ड ड्रप’ शैलीमा चलिरहेका छन् ।
ट्राफिक र सर्वसाधारणलाई सास्ती
काठमाडौं महानगरभित्र सिटी बसपार्क नहुँदा यात्रुहरूलाई सवारीसाधन पाउन सधैँ मुस्किल हुने गरेको छ । ‘पिक एन्ड ड्रप’ क्षेत्रमा यात्रुहरू उभिए पनि सबैतिरका प्रहरीले सवारीसाधन रोक्न नदिँदा सास्ती खेप्ने गरेका छन् । तिनकुनेका घनश्याम अधिकारी भन्छन्, ‘सधैँ ‘पिक एन्ड ड्रप’का भरमा महानगरको यातायात कसरी व्यवस्थित हुन सक्छ ?’ महानगर क्षेत्रमा बसपार्क नहुँदा हजाराैँ यात्रु हरेक दिन सडकको डिलमै सवारीसाधन कुर्न बाध्य हुनुपरेको उनी बताउँछन् । एउटै सडकमा सबै रुटका सवारीसाधन गुड्दा ट्राफिक अस्तव्यस्त बन्ने गरेको छ । उपत्यकाका तीन जिल्लाका कुनाकाप्चाबाट आउने सार्वजनिक सवारीसाधन सडकमै ‘पिक एन्ड ड्रप’ गर्छन् ।
ट्राफिक अस्तव्यस्त हुँदा यात्रुले मात्र होइन, यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई समेत हैरानी छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बसपार्क नहुँदा ट्राफिक व्यवस्थापनमा कठिन हुने गरेको जानकारी दिए । उनका अनुसार बसपार्क नहुँदा ‘पिक एन्ड ड्रप’ गर्दा सवारी जाम बढेको छ । उनले भने, ‘लोकल सिटी बसपार्क भएको भए सवारी व्यवस्थापन सहज हुने थियो ।’ ट्राफिक कार्यालयका अनुसार अहिले दैनिक नौ सय ५० सार्वजनिक सवारीसाधन रत्नपार्क क्षेत्रबाट गुड्छन् । यो क्षेत्रबाट झन्डै १९ हजार यात्रु गाडी चढ्छन् । तर, बसपार्क नहुँदा यात्रुहरूले गाडी चढ्दा सास्ती खेप्नुपरेको छ ।
पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेंथुका अनुसार यो क्षेत्रमा दैनिक एक हजार सात सय ५० सार्वजनिक सवारीसाधन गुड्ने तथ्यांक छ । उपत्यकामा सबैभन्दा बढी सवारी चाप रहेको रत्नपार्क क्षेत्र हो । वीर अस्पतालबाट जमलतर्फ गुड्ने सवारी संख्या सबैभन्दा बढी छ । सो क्षेत्रमा प्रतिमिनेट एक सय २१ सवारी गुड्छन् । एक मिनेटमा ८९ मोटरसाइकल र ३२ वटा गाडी गुड्ने गरेको अध्ययनले देखाएको छ । ‘काठमाडौंका सडकमा सवारीसाधनको चाप बढ्दो छ, तर त्यसलाई व्यवस्थित पार्ने संयन्त्र छैन, एउटा ट्राफिक लाइटलाई समेत व्यवस्थित गर्न सके ट्राफिक जाम धेरै हदसम्म समाधान हुन सक्छ,’ उनले भने ।
उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता भट्टले बसपार्क नहुँदा यात्रुहरू सडकमै तानातान गरेर गाडी चढ्ने गरेको बताए । बसपार्क नभएपछि ट्राफिक प्रहरीले सुन्धारा, शान्तिवाटिका अगाडि, टुँडिखेलतर्फ, सहिदगेट, वीर अस्पतालअगाडि, विद्युत् प्राधिकरणको कार्यालयअगाडि यात्रु चढाउन र ओराल्न दिएको छ । बसपार्कभित्र रोकिनुपर्ने सवारीसाधन सडकमै रोकिँदा जाम बढ्नु स्वाभाविक भएको बताउँछन् ट्राफिक प्रहरीहरू ।
उपत्यकाभित्र मात्र होइन, पुरानो बसपार्कबाट आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाका लागि दैनिक करिब तीन सय बस छुट्छन् । ती जिल्लामा अधिकांश सवारीसाधनले अहिले सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । कतिपयले गोंगबुस्थित नयाँ बसपार्कबाट यात्रु ओसारपसार गर्छन् । लामो दूरीका सबैजसो सवारीसाधनले यात्रु चढाउने, कुर्ने र ओराल्ने गोंगबुबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।
भ्युटावर नबन्दा थप सास्ती
सम्झौताअनुसार पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावर असार ०७८ मै सम्पन्न हुनुपर्ने हो । १२ तले भ्युटावरमा दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारी अटाउनेछन् । पहिलो तलामा टिकट काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । भुइँतलामा मोटरसाइकल पार्किङ बनाउने योजना छ । यसमै बसपार्क पनि राख्ने महानगरको तयारी छ । भ्युटावरको अन्डरग्राउन्डमा बस पार्किङ हुनेछ । भ्युटावरको १२ तला ढलान भइसके पनि यसलाई बढाएर २९ तला बनाउने महानगरको योजना छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ठाउँ अभावका कारण लोकल बसपार्क बनाउन नसकिएको जानकारी दिए । ‘हामीसँग बसपार्क बनाउने विकल्प नै छैन, त्यही रत्नपार्कको भ्युटावर बन्यो भने त्यहाँ नै बस पार्किङ गर्न मिल्छ,’ उनले भने, ‘लोकल बसपार्क भनेर बनाउन हामीसँग ठाउँ छैन ।’ उनले काठमाडौं महानगरमा भ्युटावरबाहेक अन्य सिटी बसपार्क बनाउने योजना नरहेको बताए । तर, असार ०७८ मै सकिनुपर्ने १२ तले भ्युटावर अहिलेसम्म पनि सकिएको छैन ।