सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता : छात्रातर्फ शान्ता र छात्रतर्फ ब्रह्मरूपा माविलाई उपाधि

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण

छात्रातर्फ साबिक विजेता शान्ता मावि र छात्रतर्फ ब्रह्मरूपा माविले पाँचौँ संस्करणको सिर्जना कप कास्की जिल्ला सामुदायिक माविस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेका छन्।

शुक्रबार सम्पन्न छात्रातर्फको फाइनलमा शान्ताले कन्या माविलाई २–१ को सेटमा २५–२०, १८–२५ र २५–२२ पराजित गर्दै उपाधि जितेको हो। छात्रतर्फको फाइनल खेलमा ब्रह्मरूपाले राष्ट्रिय माविलाई ३–२ सेटमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ ले पराजित गर्दै उपाधि हात पारेको हो।

छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा जनप्रिय माविले इन्द्रराज्यलक्ष्मी माविलाई २५–१६, २५–१४ र २५–१९ र छात्रतर्फ साबिक विजेता शान्ता माविले जनप्रियलाई २५–२२, २५–२१, १८–२५ र २५–१३ ले पराजित गर्यो। छात्र–छात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तेस्रोलाई ३५/३५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो। 

प्रतियोगितामा छात्रातर्फ शान्ता माविकी जमुना गुरुङ र छात्रतर्फ ब्रह्मरूपाका सुदीप परियार उत्कृष्ट खेलाडी घोषित भए। अन्य विधाअन्तर्गत छात्रातर्फ उत्कृष्ट सर्भर शान्ताकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्ताका दिनेश चौधरी घोषित भए।

छात्रतर्फ उत्कृष्ट सर्भर शान्ताका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रह्मरूपाका मनीष ठकुरी, सेटर ब्रह्मरूपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रह्मरूपाका सुन्दर श्रेष्ठ घोषित भए। 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रत्येक विद्यालयमा भलिबल खेल पुर्याउने र खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र पोखराले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमको सहभागिता रहेको केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।

सुझावित समाचार