आठ वर्षपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

यू–१९ विश्वकपमा नेपाल ‘जायन्ट किलर’

नेपाली यू–१९ क्रिकेट टोली सन् २०२४ मा श्रीलंकामा हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । सन् २०१६ को यू–१९ विश्वकपमा बंगलादेशसँग क्वार्टरफाइनल खेलेको नेपाल त्यसयता सात वर्षसम्म छनोट हुन सकेको थिएन । 

बिहीबार राउन्ड रोबिन लिगको अन्तिम तथा निर्णायक खेलमा आयोजक युएईलाई सात रनले हराउँदै सर्वाधिक १० अंकसहित नेपालले समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो । युएईको अजमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाई एक सय ९१ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा युएई ४८ ओभरमा एक सय ८४ रनमै समेटियो । राउन्ड रोबिन लिगमा अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्दा नेपालका दीपेश कँडेलले युएईविरुद्ध ह्याट्रिक गरे । सन् २०१८ को छनोट खेलको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । त्यसपछिका संस्करणमा युएई नेपालमाथि हाबी हुँदै आएको थियो । 

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस नियममा एक रनले स्तब्ध भएको थियो । सन् २०२२ मा आइसिसीले कोरोना महामारीका कारण छनोट खेल आयोजना नै गरेन । आइसिसीले पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा युएईलाई नै विश्वकपमा स्थान दिलाएको थियो । यसपटकको आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल, युएई, मलेसिया, हङकङ, सिंगापुर र कुवेत प्रतिस्पर्धामा थिए । नेपालले लगातार चार खेलमा विपक्षीमाथि सानदार जित निकाल्यो । पाँचौँ खेलमा जित निकाल्न नेपालले मिहिनेत गर्नुपर्‍यो । 

यू–१९ विश्वकपमा नेपाल ‘जायन्ट किलर’
यू–१९ विश्वकपमा नेपालले जायन्ट किलर (अस्वाभाविक रूपमा ठूला राष्ट्रलाई हराउने) उपनाम पाएको छ । सन् २००० यता आठौँपटक विश्वकपमा छनोट भएको नेपालले कुनै न कुनै टेस्ट मान्यता राष्ट्रलाई हराएको छ । पहिलोपटक सन् २००० को विश्वकपमा सुपर लिगको समूह २ बाट माथि जान नसकेको नेपाल सन् २००२ मा युथ एसिया कप विजेताकै रूपमा छनोट भयो । न्युजिल्यान्डमा भएको विश्वकपको समूह सीमा अन्तिम दुईमा परेपछि नेपालले प्लेट च्याम्पियनसिप खेल्यो । प्लेट च्याम्पियनसिपको समूह २ मा विजेता बनेको नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्‍यो । फाइनलमा नेपाल जिम्बावेसँग पराजित भयो । 

युथ एसिया कप जितेपछि नेपाल २००४ को यू–१९ विश्वकपमा छानियो । नेपालले समूह डीमा दक्षिण अफ्रिकालाई हराएको थियो । यद्यपि, शीर्ष दुईमा नेपालले स्थान बनाउन सकेन । सन् २००६ मा कपको विजताका आधारमा नेपाल यू–१९ विश्वकप खेल्न अवसर पायो । नेपालको यू–१९ विश्वकप इतिहासमा यो संस्करण अहिलेसम्मकै ऐतिहासिक हो । कनिष्क चौगाईंको कप्तानीमा नेपालले प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसवेला नेपाली टोलीमा पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । नेपालले समूह डीमा जिम्बावे र इंग्ल्यान्डसँग हारको सामना गर्‍यो । नेपालले आयरल्यान्डलाई पराजित गरेको थियो ।

समूहमा अन्तिम दुईमा रहेको नेपाल प्लेट च्याम्पियनसिपमा पुगेको थियो । प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा नेपालले युगान्डा र सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हरायो । उपाधि भिडन्तमा नेपालले न्युजिल्यान्डलाई हराउँदै ऐतिहासिक रूपमा प्लेट च्याम्पियनसिप उपाधि उचाल्यो । सन् २००८ को विश्वकपअन्तर्गत प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भयो । सन् २०१० मा नेपाल छनोट नै भएन । सन् २०१२ मा पहिलो चरणमै रोकियो । सन् २०१४ मा नेपालले विश्वकपमा स्थान बनाउन सकेन ।

सन् २०१६ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा नेपाली टोली क्वार्टरफाइनलमा पुगेको थियो । नेपाल समूह डीको उपविजेता हुँदै अन्तिम आठमा पुगेको थियो । क्वार्टरफाइनलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

४७औँ ओभरमा दीपेश कँडेलको ह्याट्रिक

दीपेश कँडेलले आफ्नो अन्तिम स्पेल बलिङ गरेका थिए । उनले सुरुका तीन बलमा तीन रन मात्र खर्चिए । नेपाल हारनजिक पुगिसकेको थियो । युएईलाई १५ बलमा आठ रन मात्र आवश्यक थियो । त्यसपछि कँडेलले सनसनीपूर्ण बलिङ मात्र गरेनन्, नेपाललाई विश्वकपमा समेत पुर्‍याए । इनिङ्सको ४७.४ ओभरमा उनले हर्सिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा उनैले हरित सेट्टीलाई कप्तान देव खनालबाट क्याच आउट गराए । ४७.६ ओभरमा मनिस गजेसलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए । ह्याट्रिक गरेका कँडेलले १० ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिए ।

देव खनालले बनाए अर्धशतक

नेपालको धर्मराएको ब्याटिङ इनिङ्सलाई कप्तान देव खनाल र उत्तम थापमगरले उकासेका थिए । दुवैले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपाललाई १०३–४ को स्थितिमा राखे । उत्तमले ४८ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३६ रनको योगदान दिए । देवले पनि आफ्नो विकेट २७.५ ओभरमा गुमाए । उनले ८४ बलमा तीन चौका र एक छक्काको सहयोगमा महत्वपूर्ण ५१ रनको योगदान दिए । 

सुझावित समाचार