आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सयजनाको मृत्यु भएको छ।
बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त संख्या उल्लेख गरिएको छ।
साेमबार टेनेसीको मेम्फिसमा भएको गोलीकाण्डमा एकजनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्। मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गएराति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो।
गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैन भने आक्रमणकारीबारे पनि केही खुलाइएको छैन। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गत शुक्रबार मात्रै मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो। रासस