बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

 लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उनको भनाइ थियो ।

‘सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रासामु छ,’ उनले भने, ‘जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ ।’ 

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने उनले बताए । उपेक्षित, उत्पीडित, सीमान्तकृत र विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिने उनको भनाइ थियो ।

संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै अघि बढिरहेको उनले बताए । ‘जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

सोही अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्ने बताइन् । ‘सहिदहरूको बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘यसकारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महŒव स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।’ 

See More On

सुझावित समाचार