मानव आयुको प्राकृतिक सीमा अधिकतम ११५ वर्ष रहेको अध्ययनको निष्कर्ष । दीर्घायुमा आनुवांशिकी (जिन)को भूमिका २५ प्रतिशत मात्रै, ७५ प्रतिशत योगदान वरपरको वातावरण, बस्ने ठाउँ, खाने कुरा, व्यायाम, परिवार एवं साथीभाइको साथ सहयोगलगायतमा निर्भर ।
एक सय १८ वर्षको उमेरमा संसारकी सबैभन्दा वृद्ध व्यक्तिको मृत्युले शताब्दीयौँदेखि वैज्ञानिकहरूलाई विभाजित गर्दै आएको बहसलाई पुनः जगाएको छ । एक स्वस्थ मानिस कति लामो उमेरसम्म बाँच्न सक्छ भन्ने कुराको कुनै सीमा छ ? गिनिज वर्ल्ड रेकर्ड्सअनुसार फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको केहीअघि मृत्यु भएपछि सबैभन्दा वृद्ध जीवित व्यक्तिको ताज ११५ वर्षीया स्पेनी हजुरआमा मारिया ब्रान्यास मोरेरालाई गएको छ ।
१८औँ शताब्दीमा फ्रान्सेली प्रकृतिविद् जर्जस–लुइस लेक्लेर्क (कोम्टे डी बुफोन)ले दुर्घटना वा रोगको सामना नगरेको व्यक्ति अधिकतम सय वर्षसम्म बाँच्न सक्ने सिद्धान्त पेस गरेका थिए । त्यसयता चिकित्सा विज्ञानले हासिल गरेका प्रगति र जीवनको अवस्थामा आएको सुधारले उनले पेस गरेको समयसीमालाई केही दशक धकेलेको छ ।
सन् १९९५ मा फ्रान्सेली महिला जान काल्मेन्टले आफ्नो १२०औँ जन्मदिन मनाउँदा उमेरको एउटा नयाँ कोसेढुंगा बनेको थियो । त्यसको दुई वर्षपछि काल्मेन्टको १२२ वर्षको उमेरमा निधन भयो । उनी लामो समय बाँच्ने अहिलेसम्मकै ज्ञात वृद्ध व्यक्ति हुन्, जुन प्रमाणित छ ।
राष्ट्रसंघका अनुसार सन् २०२१ मा १०० वर्ष वा सोभन्दा बढी उमेरका पाँच लाख ९३ हजार व्यक्ति थिए, जुन संख्या एक दशकअघि तीन लाख ५३ हजार मात्रै थियो । स्ट्याटिस्टाको तथ्यांकअनुसार आगामी दशकमा शताब्दी नाघ्नेको संख्या दोब्बर हुने आकलन गरिएको छ । कोम्टे डी बुफोन पनि सुपरसेन्टेनारियनहरू (११० वर्ष वा सोभन्दा बढी उमेरका वृद्ध)को संख्या सन् १९८० को दशकपछि बढ्दै गएको देखेर छक्क परेको हुन सक्छन् ।
११५ वर्ष उमेरको प्राकृतिक सीमा हो ?
त्यसो भए हामी बाँच्ने सवालमा कति पर जान सक्छौँ ? हाम्रो प्रजातिको आयुलाई कठोर जैविक सीमाहरूले परिसीमित गरेको भनाइसँग वैज्ञानिकहरू असहमत छन् । सन् २०१६ मा नेचर जर्नलमा आनुवंशिकविद्हरूले सन् १९९० को दशकको उत्तराद्र्धयता मानव दीर्घायुमा कुनै सुधार नभएको लेखे । उनीहरूले विश्वव्यापी जनसांख्यिकीय तथ्यांकको विश्लेषण गर्दा काल्मेन्टको मृत्युयता विश्वमा वृद्धहरूको संख्यामा बढोत्तरी भए पनि मानवको अधिकतम आयु भने घटेको पाइएको लेखेका थिए । ‘उनीहरूले मानव आयुको प्राकृतिक सीमा भएको र अधिकतम आयु ११५ वर्षको आसपास सीमित रहेको निष्कर्ष निकालेका छन्,’ फ्रान्सको चिकित्सा अनुसन्धान संस्थान (आइएनएसइआरएम)मा शताब्दी मानवसम्बन्धी विज्ञसमेत रहेका मानव जनसंख्याको संरचनासम्बन्धी फ्रान्सेली वैज्ञानिक जिन–मारी रोबिन भन्छन्, ‘तर यो कथनमा थुप्रै जनसंख्याविद् आंशिक रूपमा असहमत छन् ।’
सन् २०१८ मा गरिएको अनुसन्धानले उमेरसँगै मृत्युको दर बढ्ने भए पनि ८५ वर्षपछि भने मृत्युको दरमा गिरावट आउने देखाएको थियो । साथै, अध्ययनले एक सय सात वर्षको आसपासबाट मृत्युको दर हरेक वर्ष ५० देखि ६० प्रतिशतले बढ्ने निष्कर्ष पनि निकालेको थियो । ‘यो सिद्धान्तअन्तर्गत, यदि एक सय १० वर्ष उमेरका १२ व्यक्ति जीवित छन् भने उनीहरूमध्ये ६ जना एक सय ११ वर्षसम्म र तीनजना एक सय १२ वर्षसम्म बाँच्नेछन्,’ रोबिनले भने ।
संख्याहरूको खेल
सुपरसेन्टेनारियन(११० वर्ष पुगेका व्यक्ति)हरूको संख्या जति धेरै हुँदै जान्छ, उमेरमा कीर्तिमानी कायम गर्न जीवित रहने अवसर पनि उति नै उच्च हुन्छ । ‘यदि सुपरसेन्टेनारियनहरूको संख्या एक सय छ भने ५० जना एक सय ११ वर्ष र २५ जना एक सय १२ वर्षसम्म बाँच्नेछन्,’ रोबिनले भने, ‘संख्याको प्रभावलाई धन्यवाद । लामो आयुको अब कुनै निश्चित सीमा रहेन ।’
तर, रोबिन र उनको टोलीले यसै वर्ष प्रकाशित गर्न लागेको आफ्नो अनुसन्धानले मृत्युको दर १०५ वर्षको उमेरपछि बढ्दै जाने र बाँच्ने सम्भावना साँघुरिने निष्कर्ष पस्किएको बताएका छन् । उसो भए हामी कति लामो समय बाँच्न सक्छौँ भन्ने कुनै निश्चित सीमा छ ? रोबिन भन्छन्, ‘सधैँजस्तै हामीले आयु विस्तारका खोजहरू जारी राख्नेछौँ र बिस्तारै शताब्दी मानवहरूको स्वास्थ्यमा पनि सुधार हुँदै जानेछ ।’
अन्य अनुसन्धाताहरू पनि यसै हो भन्न अनकनाउँछन् । ‘अहिलेका लागि निश्चित जवाफ छैन्,’ फ्रेन्च इन्स्टिच्युट अफ डेमोग्राफिक स्टडिज (आइएनइडी)का जनसंख्याविद् फ्रान्स मेस्लीले भनिन्, ‘सुपरसेन्टेनारियनहरूको संख्यामा बढोत्तरी भइरहेको भए पनि निकै वृद्ध उमेरसम्म बाँच्नेहरूको संख्या अझै पनि निकै सानो छ । त्यसैले, हामी अहिले पनि कुनै महत्वपूर्ण तथ्यांकीय अनुमान लगाउन सक्दैनौँ ।’
विश्वमा जीवित रहेका ११४ वर्षमाथिका नौ व्यक्तिमा सबै महिला, अहिलेसम्म सबैभन्दा लामो उमेर बाँच्ने व्यक्ति पनि महिला नै छन्
तसर्थ ‘भोल्युम इफेक्ट (संख्याको असर)’को परीक्षण गर्न सुपरसेन्टेनारियनहरूको बढ्दो संख्यालाई पर्खनुपर्ने हुन सक्छ । निःसन्देह, भविष्यमा हुने कुनै चिकित्सा विज्ञानको सफलताले मृत्युबारेका आजसम्मका हाम्रो ज्ञानलाई नै उल्ट्याइदिन पनि सक्छ । दीर्घायुविद् फ्रान्सेली चिकित्सक एरिक बाउलेन्जर ‘आनुवंशिक हेराफेरीले केही व्यक्तिलाई एक सय ४० वा एक सय ५० वर्षसम्म बाँच्ने सामथ्र्य दिन सक्ने बताउँछन् ।
सुपरसेन्टेनारियनमा महिलाको वर्चस्व
विश्वमा जीवित रहेका ११४ वर्षमाथिका नौ व्यक्तिमा सबै महिला छन् । अहिलेसम्म सबैभन्दा लामो उमेर बाँच्ने व्यक्ति पनि महिला नै हुन् । सन् १९९७ मा मृत्यु भएकी फ्रान्सेली महिला जान काल्मेन्ट एक सय २२ वर्ष पाँच महिना १४ दिन बाँचेकी थिइन् । जेरेन्टोलोजी रिसर्च ग्रुपका अनुसार विश्वमा एक सय १० वर्षमाथिका सुपरसेन्टेनारियनहरूको संख्या ३००–४५० को बीचमा छ, जसमध्ये धेरैजसो महिला नै छन् ।
कति छ शताब्दी मानवको संख्या ?
विश्वमा एक सय वर्षमाथिका मानिसको जनसंख्या यति नै छ भन्ने यकिन नभए पनि संयुक्त राष्ट्रसंघको सन् २०२२ को आकलनअनुसार शताब्दी मानवको संख्या पाँच लाख ९३ हजार पुगेको छ । सन् २०५० सम्ममा यो संख्या ३७ लाख पुग्ने युएनको अनुमान छ । यसमा पनि सबैभन्दा धेरै शताब्दी मानव जापानका हुनेछन् । विश्वमा अहिले एक सय १० वर्षमाथिका सुपरसेन्टेनारियनहरूको संख्या भने अधिकतम साढे चार सय हुन सक्ने आकलन छ ।
संख्याका हिसाबले अमेरिका शताब्दी मानवको संख्या सबैभन्दा धेरै भएको मुलुक हो । तर, जनसंख्याको सापेक्षमा सबैभन्दा धेरै शताब्दी मानव भएको मुलुक भने जापान रहेको छ । जनसंख्याको ०.०६ प्रतिशतसहित जापान शताब्दी मानवको घनत्वमा सबैभन्दा अगाडि छ । अमेरिकामा सन् २०२१ मा शताब्दी कटेका मानिसको संख्या ९७ हजार थियो ।
जापानमा हरेक १० हजार मानिसमा ६ व्यक्ति सय वर्षभन्दा माथिका छन् । सन् १९६३ मा जापानभर केवल एक सय ५३ सेन्टेनारियन थिए । सन् १९८१ मा यो संख्या हजार नाघेको थियो भने सन् १९९८ मा आइपुग्दा १० हजार पुगेको देखिन्छ । सेप्टेम्बर सन् २०२२ को तथ्यांकले जापानमा एक सय वर्ष पुगेका मानिसको संख्या ९० हजार नाघेको देखाउँछ, जसमध्ये ८९ प्रतिशत महिला छन् । जापान सरकारको गत सेप्टेम्बरको तथ्यांकअनुसार यहाँ सेन्टेनारियनहरूको संख्या ९० हजार पाँच सय २६ रहेको छ ।
जापानको हेल्थ एन्ड वेलफेयर मन्त्रालयका अनुसार अहिले जापानको सिमाने प्रिफ्याक्चर सबैभन्दा धेरै सेन्टेनारियन भएको क्षेत्र हो, जहाँ प्रति १० हजार जनसंख्यामा १४ भन्दा धेरै शताब्दी मानव छन् । जापानमा पनि पश्चिममा सेन्टेनारियनको संख्या धेरै छ ।
जापानपछि बाल्कन मुलुक बुल्गेरिया शाताब्दी मानवको दोस्रो धेरै घनत्व भएको देश हो । बुल्गेरियामा प्रतिदश लाखमा एक सय ९९ जना शताब्दी मानव छन् । उरुग्वे, हङकङ र पोर्टाे रिको जनसंख्याको अनुपातमा उच्च दरमा शताब्दी मानव भएका मुलुक हुन् । भूमध्य सागरस्थित इटलीको टापु सर्दिनियामा पनि प्रतिदश लाखमा १३६ जना सय वर्ष नाघेका मानिस छन् । फ्रान्स, स्पेन, इटलीमा शताब्दी मानवको संख्या जनसंख्याको ०.०३ प्रतिशत छ, जुन युरोपकै उच्च हो ।
कस्ता मानिस धेरै बाँच्ने गर्छन् ?
वृद्धवयशास्त्री(जेरोन्टोलोजिस्ट)हरूले धेरै उमेरसम्म बाँचेका मानिसहरूको अध्ययन गर्ने गर्छन् । शताब्दी मानवका केही गुण र अवस्थाले उनीहरूलाई विशेष जनसंख्या बनाउने जेरोन्टोलोजिस्टहरू बताउँछन् । अध्येताहरूले शताब्दी मानवहरूमा धुम्रपान नगर्ने, सानो कदकाँठीका, राम्रो खानपान, नियमित व्यायाम, तनाव नलिने, राम्रो वातावरणमा बस्ने, पारिवारिक वतावरण राम्रो भएका, चिन्ता नलिने, जीवनप्रति सकारात्मक सोच राख्नेजस्ता विभिन्न सकारात्मक गुणहरू पहिचान गरेका छन् ।
जापानको ओकिनावा शताब्दी मानवको घनत्व बढी भएको स्थान हो । यसैले, ओकिनावाका मानिसमाथि वृद्धवयशास्त्रीहरूले धेरै वर्षदेखि अनुसन्धान गरिरहेका छन् । खोजकर्ताहरूले त्यहाँका मानिसको दीर्घायुको श्रेय राम्रो पोषण र कम क्यालोरीयुक्त खानालाई दिन्छन् । अध्ययनमा ओकिनावाका बालबालिकाले मुख्य भूमि जापानका बालबालिकाको तुलनामा ४० प्रतिशत कम क्यालोरी खाने गरेको पाइएको थियो । अन्य कारकमा साधारण जीवनशैली र जीवनव्यापी शारीरिक गतिविधिलाई सामेल गरिएको छ ।
अधिकांश शताब्दी मानव तुलनात्मक रूपले सानो कदकाँठी र पातला ज्यानका मानिस हुने गरेका छन् । आसनमा परिवर्तन र मेरुदण्डमा दबाबका कारण उमेरसँगै मानिसमा केही संकुचन आउने गर्छ । यस्तोमा होचा मानिस कम र अग्ला मानिस बढी खुम्चिन्छन् । ओकिनावाका महिला एवं पुरुष शताब्दी मानवमा अधिकांश तुलनात्मक रूपले होचा कदका मानिस छन् । उनीहरूमा पुरुषको औसत उचाइ १४८.३ सेन्टिमिटर (करिब चार फुट आठ इन्च) र महिलाको १३८.६ सेन्टिमिटर (चार फुट पाँच इन्च) रहेको छ । एक सय वा त्यसभन्दा माथि उमेरका पुरुषहरू ७३ वर्षका पुरुषहरूको औसत उचाई भन्दा १० सेमि होचा पाइएका थिए । यसबाहेक, अर्काे अध्ययनले इटलीका शताब्दी पुरुषहरूको औसत उचाइ १६२ सेमि (करिब पाँच फुट दुई इन्च) र ७७.६ वर्षका पुरुषहरूको औसतभन्दा १५ सेमि कम ( ५.८ इन्च) होचा पाएको थियो ।
सेन्टेनारियनमाथिको अध्ययन
शताब्दी मानवहरूको दीर्घायुको रहस्य थाहा पाउन थुप्रै अध्ययन भएका छन्, जसमध्ये न्यू इंग्ल्यान्ड सेन्टेनारियन स्टडी बढी उल्लेखनीय छ । यो अध्ययन १०० वर्ष नाघेका मानिसको आनुवंशिकीय कारणहरूमा केन्द्रित छ । यदि कसैको सहोदर दिदी वा दाजु सय वर्ष कटे तिनका भाइबहिनी १०० वर्ष बाँच्न सक्ने सम्भावना चार गुणा बढी हुने पाइएको छ । जीवरासायनिक कारकमा केन्द्रित अध्ययनहरूमा भिटामिन ए र ईको उच्चस्तर र दीर्घायुका बीच सम्बन्ध पाइएको छ ।
न्युयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनको इन्स्टिच्युट फर एजिङ रिसर्चका निर्देशक नायर बारजिलाईले सयाैँ सेन्टेनारियन, तिनले विवाह गरेका व्यक्ति र उनीहरूका सन्तानमाथि अध्ययन गरे । उनले शताब्दी मानवका सन्तान अन्य मानिसका सन्तानभन्दा १० वर्ष अधिक स्वस्थ रहेको पाए । उनीलगायतले लामो आयुमा जिनको भूमिका पत्ता लगाउन १० हजार सेन्टेनारियन र तिनका सन्तानहरूको अध्ययन गरिरहेका छन् । उनीहरूले ग्रोथ हर्माेनमा निश्चित उत्परिवर्तन भएका कारण कोषहरूमा अधिक ऊर्जा प्रवाहित हुने मानिस लामो समय बाँच्ने सम्भावना बढी रहेको पाए । दीर्घायुमा आनुवांशिकीको प्रभावबारे आमसहमित नभए पनि असल जिनहरूले मात्रै दीर्घजीवन दिनेमा भने विज्ञहरू सहमत छन् ।
वातावरण तथा जीवनशैलीले दीर्घायुमा निकै महत्वपूर्ण भूमिका खेल्ने पाइएको छ । वेक फरेस्ट युनिभर्सिटीको जेरोन्टोलोजी विभागका उप–प्राध्यापक जामी जस्टिस केही अध्ययनले आनुवांशिकीले दीर्घायुमा २५ प्रतिशतजति मात्रै योगदान गर्ने देखाएको बताउँछिन् । ७५ प्रतिशत योगदान वरपरको वातावरण, बस्ने ठाउँ, खाने कुरा, व्यायाम, परिवार एवं साथीभाइको साथ सहयोग आदिमा भरपर्ने उनको कथन छ । जस्टिस् राम्रो जनस्वास्थ प्रणालीले पनि लामो आयुमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् । साथै, केही भौगोलिक लोकेसनका मानिस अन्य स्थानका तुलनामा बढी लामो आयुका हुने गरेको छ । यद्यपि, यसको वैज्ञानिक कारणमाथि पर्याप्त अध्ययन भने हुन बाँकी छ । (एजेन्सीहरूको सहयोगमा )