प्रधानमन्त्री कार्यालयमा पनि एक महिनाभित्रै धाराकै पानी अनिवार्य गरिने
उपत्यकाका सार्वजनिक स्थलहरूसहित अन्तर्राष्ट्रिय विमानस्थलमा शुद्ध खानेपानीको धारा जडान गरिने भएको छ । खानेपानी मन्त्रालयले सर्वसाधारणको भिडभाड हुने ठाउँलाई लक्षित गरी खानेपानीसहितका आधुनिक सेन्सर धारा जडान गर्न लागेको हो ।
उपत्यकाका केही स्थानका ढुंगेधारामा खानेपानी आए पनि अधिकांश सार्वजनिक स्थानमा खानेपानी किनेर पिउनुपर्ने बाध्यता छ । मेलम्चीको पानी आएयता खानेपानी पर्याप्तता भएको भन्दै मन्त्रालयले थप शुद्धीकरण गरी सार्वजनिक स्थलहरूमा समेत निःशुल्क पिउन मिल्ने गरी धारा जडान गर्न लागेको हो । खानेपानीमन्त्री अब्दुल खानका अनुसार पहिलो चरणमा सिंहदरबार क्षेत्रमा निजी क्षेत्रबाट आउने बोतलको पानी बन्द गरिनेछ । यसको सुरुवात खानेपानी मन्त्रालयबाट भइसकेको छ ।
मन्त्री खानले आफू नियुक्त भएलगत्तै मन्त्रालयमा निजी कम्पनीका पानीका बोतल तथा जार बन्देज गरिसकेका छन् । अब सिंहदबारभित्रका अन्य मन्त्रालय र कार्यालयमा यो नियम लागू गरेपछि उपत्यकाका करिब दुई दर्जन सार्वजनिक ठाउँमा सेन्सरयुक्त धारा जडान गरिनेछ । ‘खानेपानी आधारभूत आवश्यकता हो, सिंहदरबार, एयरपोर्ट, बसपार्कलगायत धेरै भिड हुने ठाउँमा सेन्सरयुक्त धारा जडान गर्छौँ,’ उनले भने, ‘खानेपानीलाई सर्वसुलभ बनाउनुपर्छ ।’
मन्त्री खानले खानेपानीमाथि ठूलो सिन्डिकेट भएको भन्दै यसलाई तोडेरै छाड्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रले महँगोमा बेच्दै आएको जार तथा बोतलको पानीको मूल्य पनि घटाउनेबारे योजना बनाइरहेको बताए । सरकारी संस्था खानेपानी संस्थानले नै यस्ता बोतल र जार प्रशस्त उत्पादन गरी मूल्य घटाउन सकिने उनको भनाइ छ । सुन्दरीजल क्षेत्रमा खानेपानी उद्योग खोल्ने योजना मन्त्रालयले अघि बढाएको जानकारी दिए ।
उपत्यकाको खानेपानीमा ठूलो गिरोह सक्रिय रहेको मन्त्रीको आरोप
संस्थानले हाल दैनिक १० हजारवटा जार र १० हजार कार्टुन बोतल पानी उत्पादन गर्दै आइरहेको छ । तर, संस्थानले उत्पादन गरेको यो पानीले उपत्यकामा सरकारी कार्यालयमा समेत पुग्दैन । ‘खानेपानीमाथि ठूलो गिरोह सक्रिय छ, पेट्रोलियम पदार्थमा भन्दा चर्को आतंक खानेपानी छ,’ उनले भने, ‘अब यो आंतक बन्द हुन्छ, नेपालीले न्यून मूल्य र सकेसम्म सित्तैमा खानेपानी उपभोग गर्न पाउनुपर्छ ।’ उनले निजी खानेपानी उद्योगहरूलाई व्यवस्थित गर्ने, बोतल तथा जार वाटरलाई सहुलियतसमेत बनाउने बताए । मन्त्री खानले खाडी मुलुकमा खानेपानी निर्यात गर्न सकिने सम्भावना भएकाले यसमा पहल गर्ने बताए । हाल सिंहदरबारभित्र रहेका सबैजसो कार्यालयमा पिउन तथा अन्य प्रयोजनमा समेत जार र बोतल पानी नै प्रयोग हुन्छ ।
सिंहदरबारमा मात्रै दैनिक चार हजार कार्टुन पानी खपत
खानेपानी मन्त्रालयका अनुसार सिंहदरबारमा दैनिक चार हजार कार्टुन बोतल र चार हजार जार पानी खपत हुन्छ । यो पानी नेपाल बोतल खानेपानी संघअन्तर्गतका उद्योगले उपलब्ध गराउँछन् । हाल उपत्यकामा मेलम्चीसहित १० वटा खानेपानी भण्डारण ट्यांकी छन् । ती ट्यांकीबाट पालैपालो पानी वितरण भइरहेको छ । यसमध्ये उपत्यकामा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँछ । यसबाहेक उपत्यकानजिकका स्रोतबाट १२ करोड लिटर पानी आउँछ ।
सिंहदरबारमा सातामा दुईपटक पानी, तर प्रयोग हुँदैन
अहिले सिंहदरबारभित्रकै सरकारी निकाय किनेको पानीमा निर्भर छन् । उनीहरू सरकारी धारामा पानी आउदा–आउँदै पनि महँगो मूल्य खर्चेर पानी उपभोग गर्दै आइरहेका छन् ।
केयुकेएलले सातामा दुईपटक सिंहदरबारभित्र खानेपानी वितरण गरे पनि कार्यालयहरूले त्यो पानी पिउन र अन्य प्रयोजनमा समेत प्रयोग गर्दैनन् । सरकारी खानेपानी प्रशस्त र शुद्ध हुँदाहुँदै पानी किनेर उपभोग गर्नु जायज नभएको खानेपानी मन्त्री खानले बताए । अब प्रधानमन्त्री कार्यालयमा समेत धाराको पानी प्रयोग गरिने उनले बताए । उनले एक महिनाभित्र प्रधानमन्त्रीलाई केयुकेएलबाट आएको धाराको पानी खुवाएर सबै कार्यालयमा सरकारी खानेपानी प्रयोग अनिवार्य गरिने बताए । ‘प्रधानमन्त्री कार्यालयदेखि सबै कार्यालयहरूमा धाराको पानी पिउने व्यवस्था मिलाउँछौँ,’ उनले भने ।