ग्यास लिक भएर भण्डारीको भान्सामा आगो सल्कियो

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँको छोराको विवाह भोजमा सांसद डा. चन्द्र भण्डारीलाई पनि निम्ता थियो । बुधबार साँझ भोजमै उनको कांग्रेस नेता एनपी साउदसँग भेट भयो । खानासँगै दुईजनाबीच निकैबेर गफ चल्यो । करिब तीन घन्टाको बसाइपछि साउदकै गाडीमा फर्किएका उनी राति ९:३० बजेतिर बुद्धनगरस्थित निवास पुगे । भाइ हरिहरको घरको भुइँतलामा चन्द्र आमा हरिकलासँगै बस्थे । 

चन्द्र कोठाभित्र पस्दा ग्यासको गन्ध आइरहेको थियो । आमा हरिकला बत्ती निभाएर सुत्ने तरखरमा थिइन् । ग्यास गनाइरहेको विषयमा उनले आमालाई सोधे । ग्यासको गन्ध हरिकलाले पनि अघिबाटै अनुभव गरिरहेकी थिइन् । उनी ओछ्यानबाट उठेर भान्साकोठातर्फ लागिन् । चन्द्र पनि सँगै थिए । ग्यासको गन्ध भान्साबाटै आइरहेको थियो । 

हरिकला भान्साकोठाको ढोका उघारेर बत्ती बाल्न ‘स्विच’ छाम्न अघि बढिन् । तर, उनले ‘स्विच’ थिच्नेबित्तिकै अचानक आगोको लप्काले कोठा भरियो । सँगै विस्फोट भएझैँ ठूलो आवाज पनि निस्कियो । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पनि बिजुलीको बत्ती बाल्ने क्रममा निस्किएको झिल्कोले आगलागी भएको हुन सक्ने बताए । 

‘भान्सा कोठाको बत्ती अफ रहेछ । ग्यासको गन्ध आएपछि दुवैजना कोठातर्फ लागेछन् । यही क्रममा कोठा उज्यालो पार्न ‘स्विच अन’ गरियो । ‘स्विच’ ‘स्पार्क’ भयो । त्यही कारण कोठामा आगो सल्किएको र उहाँहरू घाइते भएजस्तो देखिन्छ,’ एसपी रिजालले भने । 

कोठामा फैलिएको आगोको लप्काले हरिकला र चन्द्रलाई पनि भेट्यो । चन्द्र गुहार भन्दै चिच्याउन थाले । घाइते हरिकला भुइँमै ढलिन् । भुइँतलामा अचानक आएको ठूलो आवाज सुनेपछि माथिल्लो तलामा बस्ने भाइ हरिहर तल झरे । आमा हरिकला र दाजु चन्द्र छटपटाइरहेको देखे । सहयोगका लागि उनले छिमेकी गुहारे । र, घाइते हरिकला र चन्द्रलाई छिमेकीको गाडीमा राखेर नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याए । 

आगोले दुवैजनालाई गम्भीर बनाएको थियो । सिभिलले उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गर्यो । दुवैलाई तत्काल कीर्तिपुर अस्पताल पुर्याइयो । तर, हरिकलालाई बचाउन सकिएन । उनको ७० प्रतिशत शरीर जलिसकेको थियो । उपचारकै उनको मृत्यु भयो । 

आगोका कारण चन्द्रको पनि ३० प्रतिशत भाग जलेको छ । ग्यासको लप्काले उनको फोक्सो र श्वासनलीमा गम्भीर चोट पुर्याएको चिकित्सकको भनाइ छ । उनलाई थप उपचारका लागि बिहीबार साढे तीन बजे मुम्बईस्थित नेसनल बर्निङ अस्पताल लगिएको छ । 

भान्सामा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ । कोठाभन्दा बाहिर ग्यासको सिलिन्डर देखिन्छ । सिलिन्डर फुटेको छैन । भान्साभित्रका ग्यासको चुलो, पाइप, रेगुलेटर पनि उस्तै छन् । कोठाका अन्य सामग्री पनि खासै टुटेका छैनन् । घटनास्थल हेर्दा ग्यास विस्फोट भएको होइन, लिक भएर आगो लागेजस्तो देखिन्छ । आगोको लप्काले भएको सानो विस्फोटले भान्साकोठाको ढोका हल्का चिरिएको छ । झ्यालका सिसा फुटेका छन् । भान्साको आडैमा रहेको सानो कोठाको जस्ता उडेको छ ।

सुझावित समाचार