चिकित्सकमाथिको आक्रमण अशोभनीय र दु:खद : गगन थापा

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले चिकित्सकमाथि भएको आक्रमणको विरोध गरेका छन् । यस्ता आक्रमण अशोभनीय र दुःखद भएको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेका छन् ।

तामझामवाला शैलीका कारण राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उल्लेख गर्दै थापाले यसलाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्न आवश्यक रहेको जिकिर गरेका छन् ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । भिआइपी सवारीका नाममा सडक खाली गराएर नागरिकलाई सास्ती दिने यस्ता शैलीको विरोध भए पनि छिट्टै बिर्सने भन्दै थापाले यस्ता कार्य दोहोरिन नदिन सरकारलाई फेसबुकमार्फत दुई सुझाव दिएका छन् ।

यस्ता छन् उनका सुझाव :
१. विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।

२. निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि नै तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । र, म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहनेछु ।

सुझावित समाचार