अमेरिकी दूतावासलाई प्रश्न : भिसा अस्वीकृत हुँदा पनि १६० डलर किन?

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयका अधिकारीले अमेरिकाले भिसाको आवेदनमै नेपालीलाई उच्च शुल्क लिने गरेकोमा त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा भिसा पारस्पारिकताका विषयमा काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीसँग यस्तो प्रश्न राखेका हुन् । 

अमेरिकाको भिसा आवेदनकै लागि एक सय ६० अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ । आवेदनकै क्रममा यस्तो चर्काे शुल्क सामान्यतया अन्य देशले लिँदैनन् । भिसा अस्वीकृत हुँदा पनि सो शुल्क फिर्ता हुँदैन । 

गृहका अधिकारीले यस्तो प्रणाली संशोधन गर्न आग्रह गरेका हुन् । छलफलमा सहभागी अमेरिकी दूतावसका अधिकारीले अमेरिकाबाट हुने उच्चस्तरीय भ्रमणमा यो विषयलाई एजेन्डाका रूपमा उठाउन आग्रह गरेको गृहका कर्मचारीले बताए । 

नेपाल र अमेरिकाबीच २०१९ देखि चार किसिमको भिसामा पारस्पारिकता कायम गरिएको छ । पर्यटक, विद्यार्थी, कामदार र प्रेस भिसामा पारस्पारिकता कायम गरिएको हो । जसअनुसार पर्यटक तथा विद्यार्थी भिसा लिनेले एकैपटक पाँच वर्षको मल्टिपल भिसा पाउँछन् । कामदार भिसाका लागि एक सय ९० तथा अन्य भिसाका लागि समान एक सय ६० डलर भिसाशुल्क कायम गरिएको छ । 

विद्यार्थी भिसामा अमेरिकाले एक सय ६० डलर लिनेमा नेपालले भने अमेरिकी विद्यार्थीलाई तीन सय ६० डलर लिने गरेको छ । यस्तो शुल्क एक सय ६० मा घटाउन शुक्रबारको बैठकमा अमेरिकी दूतावासका अधिकारीले आग्रह गरेका छन् । 

पारस्पारिकता कायम भएलगत्तै अमेरिकाले भिसा शुल्क घटाए पनि नेपालले घटाउन सकेको छैन । नेपालले पनि अमेरिकी विद्यार्थीका लागि यस्तो शुल्क घटाउन प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘भिसा पारस्पारिकता कायम भए पनि अमेरिकाले विद्यार्थी भिसाको शुल्क घटाए पनि नेपालले नघटाएकोमा उहाँहरूको चासो थियो,’ बस्नेत भन्छन्, ‘यसमा हामीले पनि शुल्क घटाउने तयारी थालेका छौँ ।’ 

See More On

सुझावित समाचार