दाङकाे बबई गाउँपालिका– ७ ले आधारभूत औषधि खरिदका लागि छुट्याइएको बजेटबाट गेट निर्माण गरेको छ।
एउटा शीर्षकको बजेटलाई अर्को शीर्षकमा रकमान्तर गर्न गाउँसभाबाट पारित हुनुपर्छ। तर, रकमान्तर नगरी वडाले औषधि खरिदका लागि छुट्याइएको बजेटबाट गेट निर्माण गरेको छ।
वडाध्यक्ष तिलकराम भण्डारीका अनुसार वडा कार्यालय प्रवेश गर्ने गेटमा बजेट रकमान्तरण गरिएको हो। औषधि खरिदका लागि गाउँपालिकाको एक लाख छुट्याएको थियो।
‘वडाले निर्णय गरेर हामीले एक लाख रुपैयाँ औषधि खरिदका लागि छुट्याएका थियौँ,’ अध्यक्ष भण्डारीले भने, ‘तर, वडाले औषधि खरिद गर्न नमिल्ने रहेछ, त्यसैले हामीले त्यो बजेटलाई गेट निर्माणमा खर्चिएका हौँ।’

नेपाल सरकारको खरिद प्रक्रियाअनुसार खरिद गर्नुपर्ने भएकाले वडाले औषधि खरिद गर्न नमिल्ने भएपछि आफूहरूले त्यो बजेटलाई गेट निर्माणमा खर्चिएको उनले बताए।
करिब तीन हप्ताअघि वडा समितिको बैठकले औषधिमा छुट्याएको बजेटलाई वडा समितिले गेट निर्माणमा खर्च गर्ने निर्णय गरेको हो। तर, गाउँसभामा भने बिहीबार मात्रै त्यो विषय प्रवेश गरेको छ। गाउँसभाले पास नगर्दै गेट निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ।
दुई हप्ता अघिदेखि नै वडामा गेट निर्माण गर्न थालिएको हो। निर्माण सामग्री वडा आफैँले उपलब्ध गराउने र ठेकेदारले गेट निर्माण मात्रै गर्ने गरी जिम्मा दिइएको छ।
ठेकेदारलाई गेट निर्माणका लागि ४० हजार उपलब्ध गराइएको छ। ‘वडामा तालिमका वेलाका इँटा, सरिया, फलाम थिए, त्यही प्रयोग गर्यौँ, केही खरिद गर्यौँ,’ वडाध्यक्ष भण्डारीले भने। प्रक्रिया मिचेर बजेट खर्च गरेपछि स्थानीयले भने प्रश्न उठाएका छन्।