गुगलले ल्यायो च्याटजिपिटीको प्रतिस्पर्धी च्याटबोट

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)को अनुसन्धानमा समर्पित अमेरिकी कम्पनी ओपनएआईले केही समयअघि सार्वजनिक गरेको च्याटबोट टुल ‘च्याट–जिपिटी’ले भाइरल स्तरमा सफलता हासिल गरिरहेको छ । सार्वजनिक भएपछिका दुई महिनासम्म प्रतिस्पर्धीविहीन रहेको च्याट–जिपिटीले अब भने च्याटबोट टुलमा विश्वप्रसिद्ध कम्पनी गुगलको सामना गर्नुपर्ने भएको छ । गुगलले आफूले निर्माण गरेको नयाँ च्याटबोट टुल ‘बार्ड’ सोमबार सार्वजनिक गरेको छ ।

गुगल र उसको मातृ कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाईले एक ब्लग पोस्टमा बार्ड सोमबारबाट ‘विश्वसनीय परीक्षणकर्ता’माझ खुला भएको र आगामी केही हप्तामा सर्वसाधारण प्रयोगकर्ताका लागि उपलब्ध गराउने योजना रहेको उल्लेख गरेका छन् । च्याट–जिपिटीजस्तै गुगलको बार्ड पनि ल्यांग्वेज मोडलमा नै निर्मित छ । यी ल्यांग्वेज मोडललाई प्रयोगकर्ताले सोधेका प्रश्नको तत्काल आकर्षक जवाफ दिन अनलाइनमा मौजुद विशाल डेटा उपयोग गर्न सक्ने गरी प्रशिक्षित गरिएका छन् ।

‘बार्डले विश्वको ज्ञानको गहिराइलाई हाम्रो विशाल ल्यांग्वेज मोडलहरूको सिर्जनशिलता, बुद्धिमत्ता र शक्तिसँग जोड्न खोजेको छ,’ पिचाईले लेखेका छन्, ‘यसले ताजा र उच्च गुणस्तरका जवाफ प्रदान गर्न वेबका जानकारीहरू उपयोग गर्छ ।’ गुगलको मुख्य उत्पादन अनलाइन सर्च अर्थात् गुगल सर्च इन्जिनले पछिल्लो समय उल्लेख्य चुनौतीको सामना गरिरहेको थियो । त्यसैले पनि बार्डलाई निकै चासोका साथ हेरिएको छ । 

गत नोभेम्बरमा सार्वजनिक भएयता निबन्ध, कथा एवं गीतका शब्द रचना गर्न र गुगलमा पहिले नै खोजी गरिएका प्रश्नहरूको जवाफ दिन च्याट–जिपिटीको प्रयोग बढ्दो रूपमा भइरहेको छ । च्याट–जिपिटीको भाइरल सफलताले आफ्नो सर्च इन्जिन व्यवसाय खतरामा पर्न लागेको गुगल व्यवस्थापनको बुझाइ थियो । जिमेलका सर्जकमध्येका एक पाउल बुचेइटले त आफ्नो गत वर्षको एउटा ट्विटरमा नै एआईको उदयका कारण अब गुगल पूर्ण व्यवधानबाट अब केवल एक वा दुई वर्ष मात्र पर हुन सक्ने पूर्वचेतावनी दिएका थिए ।

च्याट–जिपिटी निर्माण गरेको कम्पनी ओपन एआईमा अर्बाैँ डलर लगानी गर्ने निश्चय गरेको प्रविधि जायन्ट माइक्रोसफ्टले यो च्याटबोट टुललाई आफ्ना केही उत्पादनमा समावेश गर्ने बताइसकेको छ । उसले आफ्नो सर्चइन्जिन ‘बिन्ग’मा समेत च्याट–जिपिटीलाई एकीकृत गर्ने योजना बनाइरहेको पनि गाइँगुइँ सुनिन थालेको छ ।

व्यापक रूपमा उपलब्ध नरहे पनि बार्डलाई सपोर्ट गर्ने केही टेक्नोलोजी पहिलेबाटै उपलब्ध छन् । गुगलले आफ्नो ल्यांग्वेज मोडल फर डायलग एप्लिकेसन (लाम्डा) सार्वजनिक गरेको करिब दुई वर्ष भसकेको छ । बार्डमा यही प्रविधि उपयोग गरिएको छ । 

बार्डले कुराकानीको शैलीमा जवाफ पस्किन्छ । सोमबारको पोस्टमा गुगलले बार्डलाई नासाको जेम्स बेव स्पेस टेलिस्कोपले गरेका नयाँ खोजीबारे बताउन भनेर एकजना प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ उदाहरणका लागि प्रस्तुत गरिएको छ । बार्डले दिएको जवाफ यस्तो छ, ‘सन् २०२३ मा जेडब्लुएसटी टेलिस्कोपले ‘ग्रिन पिज’ नाम राखिएका ग्यालेक्सी पत्ता लगाएको छ । केराउजस्तै हरिया, गोला र साना देखिएकाले यिनलाई यो नाम दिइएको हो ।’ 

विज्ञहरूले गुगलले यो एआई च्याटबोटलाई आफ्नो सर्च इन्जिनमा एकीकृत गरे त्यसले केही समस्या निम्त्याउन सक्ने खतरा रहेको बताएका छन् । उनीहरूका अनुसार गुगल बार्डलाई आफ्नो सर्च इन्जिनमा समावेश गर्ने दिशामा अघि बढ्यो भने यसले केही जोखिम निम्त्याउन सक्छ । च्याटबोट टुलहरू अनलाइन डेटामा प्रशिक्षित हुने भएकाले यिनले पूर्वाग्रही र गलत जानकारी फैलाउन सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ । 
एजेन्सी

सुझावित समाचार