राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेकी छिन् । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै चल्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् । उनले वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधनासमेत गरिन् ।
वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।