ट्रायल सेन्टरहरूको दबाबमा बागमती सरकारले रोक्यो लाइसेन्समा ७० अंकभार नियम

बुधबार, ११ माघ, २०७९
डिजिटल संस्करण

जति धेरै परीक्षार्थी फेल उति धेरै ट्रायल सेन्टरलाई फाइदा, प्रदेश यातायात कार्यालय र कर्मचारीको पनि साथ

ट्रायल सेन्टरहरूको अनुचित दबाबका कारण बागमती प्रदेश सरकारले चालक अनुमतिपत्र (लाइसेन्स)मा ७० अंकभारको नियम कार्यान्वयन गर्न सकेको छैन । लाइसेन्सका लागि दिनुपर्ने ट्रायल (प्रयोगात्मक परीक्षा)मा सानो त्रुटिले पनि पास नहुने समस्या अन्त्यका लागि संघीय सरकारले ०७७ मै कार्यविधि ल्याएको थियो । तर, अन्य प्रदेशमा लागू भए पनि बागमती र कर्णाली प्रदेशमा भने कार्यविधि लागू हुन सकेको छैन । 

७० अंकभारको नियम लागू गर्दा निजी ट्रायल सेन्टरहरूको व्यवसाय खुम्चिने भएकाले कार्यविधि लागू हुन नदिन उनीहरू लागिपरेको स्रोतको भनाइ छ । ‘उपत्यकामा चोकैपिच्छे निजी ट्रायल सेन्टरहरू छन्, ट्रायल दिनेहरू जति धेरै फेल भए, उति धेरै उनीहरूलाई फाइदा हुन्छ,’ स्रोतले भन्यो, ‘नयाँ नियम लागू हुन नदिन ट्रायल सेन्टर र यातायातकै कर्मचारीसमेत लागेका छन् ।’

बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले जारी गरेको कार्यविधिलाई अटेरी गरेका हुन् । उपत्यकामा ७० अंकभारको नियम लागू नहुँदा सामान्य त्रुटिका कारण फेल भएर ‘रि–ट्रायल’मा आउनेको चाप बढ्दो छ । गत आइतबारदेखि नै बागमती प्रदेशमा ७० अंकभारको नियम लागू गर्ने भनिए पनि आवश्यक पूर्वाधार तयार नभएको बहानामा प्रदेश यातायात कार्यालयले नियम लागू गरेन । 

के छ कार्यविधिमा ? 
यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारीचालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । यस कार्यविधिलाई अंकमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चारपांग्रे यातायातका साधनको ट्रायल पास गर्न ७० प्रतिशत अंक ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अंक ल्याउनुपर्नेछ । अन्यमा भने अंक थपघट भए पनि पास हुन सकिनेछ । 

यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेल भन्छन्– भौतिक संरचना र कर्मचारी नै छैनन्
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले भौतिक संरचना र कर्मचारी अभावका कारण कार्यविधि लागू गर्न नसकिएको दाबी गरे । ‘अन्य प्रदेशले ७० अंकभारको नियमलाई लागू गरिसकेका छन्, हामीकहाँ यो लागू गर्न सकिएको छैन,’ उनले भने, ‘अब छिट्टै लागू हुँदै छ ।’ 

उनका अनुसार संघीय सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले जारी गरेको निर्देशनलाई कार्यान्वयन गर्ने जिम्मा प्रदेश सरकारअन्तर्गतका मन्त्रालयको हो । तर, मन्त्रालयहरूले यो नियम लागू गर्न सहज संरचना र दक्ष जनशक्ति नभएको प्रवक्ता पोखरेलले बताए ।

कुनमा कति अंकभार ? 
यातायात व्यवस्था विभागको कार्यविधिअनुसार घुमाउरो आठलाई २० अंकभार दिइएको छ । आठमा एकपटकसम्म रेखा छोए वा खुट्टाले एकपटकसम्म टेके २० अंकमध्येको १० अंक घट्नेछ । तर, एकपटक खुट्टाले टेक्दैमा वा रेखा छुँदैमा बाहिरिनुपर्दैन । तर, आठमा एकपटकभन्दा बढी खुट्टाले टेकेमा वा छोएमा, सवारीको स्टार्ट बन्द भए, विपरीत दिशाबाट आठ घुम्न खोजे स्वतः फेल मानिनेछ । यस्तै, टर्न इन्डिकेटरमा १५, ट्राफिक लाइट १५, साँघुरो फेलेकमा १५, स्पिड ब्रेकर–उबडखाबड १५ र उकालो–ओरालोमा २० अंकभार दिइएको छ । यी सबैमध्येबाट कुल ७० अंकभार ल्याएमा ट्रायल पास भएको मानिनेछ । तर, उकालो–ओरालोमा गल्ती गरे सीधैँ फेल भएको घोषणा गरिन्छ । 

बागमतीमा मात्रै पाँच हजार ट्रायल सेन्टर
यातायात व्यवस्था विभागका अनुसार उपत्यकासहित बागमती प्रदेशमा करिब पाँच हजार निजी ट्रायल सिकाउने सेन्टरहरू छन् । उनीहरूले घन्टा तथा मिनेटको हिसाबले पैसा लिएर ट्रायल सिकाउँछन् । विभागका अनुसार उपत्यकाका चारवटा यातायात कार्यालयको ट्रायल सेन्टरमा चारपांग्रे र दुईपांग्रे गरी दैनिक औसत दुई हजार पाँच सयजनाले ट्रायल दिन्छन् । तर, त्यसमध्ये ३६ प्रतिशत मात्रै पास हुन्छन् ।

फेल नभएकाहरू निजी ट्रायल सेन्टरमा पुनः सिक्छन् र फेरि ट्रायल दिन जान्छन् । यसो गर्दा यातायात कार्यालयलाई समेत फाइदा पुग्छ । उनीहरूले ट्रायलैपिच्छे मोटरसाइकल र चारपांग्रे प्रयोग गरेवापत शुल्क लिन्छन् । यसरी ट्रायलमा फेल हुँदा यातायात कार्यालय र निजी ट्रायल सेन्टरहरूको आम्दानी बढ्छ । उपत्यकामा सबैभन्दा बढी भिड यातायात कार्यालय कुमारीगाल र एकान्तकुनामा हुन्छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले कर्मचारीको संख्या कम भएकाले ७० अंकभारको नियम लागू गर्न नसकिएको जानकारी दिए । ‘यहाँका यातायात कार्यालयहरूमा नासु कार्यालय प्रमुख छन्, जनशक्ति निकै कम छ, त्यसैले सो नियम लागू गर्न नसकिएको हो,’ उनले भने, ‘यो नियम लागू गराउन केन्द्रसँग कर्मचारी माग गरेका छौँ ।’ 

सुझावित समाचार