सन् २०२२ लाग्दासम्म खगोलविद्हरूले पत्ता लगाएको एक्सोप्लानेट्सको संख्या पाँच हजारभन्दा कम थियो । तर सन् २०२२ को अन्त्यसम्म आइपुग्दा यिनको संख्या बढेर पाँच हजार दुई सय ३५ पुगेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेटहरू पत्ता लगाउने खोजलाई मद्दत गरेको छ ।
अझै सञ्चालनमा रहेको हबल टेलिस्कोपपछि अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली यस अब्जरभेटरीले आफ्नो पहिलो खगोलीय तस्बिर जुलाईबाट पठाउन थालेको थियो । १० अर्ब डलरको यो टेलिस्कोपको एउटा मुख्य लक्ष्य भनेको ताराहरूको जीवन चक्र अध्ययन गर्नु हो । अर्को मुख्य लक्ष्य भनेको पृथ्वीको सौर्यमण्डलबाहिरका ग्रह र एक्सोप्लानेटहरूको खोजी गर्ने रहेको छ ।
हामीले पुष्टि भएका पाँच हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्षको सुरुवात गरेका थियौँ भने पाँच हजार दुई सय ३५ ज्ञात विश्वसहित वर्षलाई बिदाइ गर्याैँ
एक ट्विटमा नासाले भनेको छ, ‘हामीले पुष्टि भएका पाँच हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्षको सुरुवात गरेका थियौँ भने पाँच हजार दुई सय ३५ ज्ञात विश्वसहित वर्षलाई बिदाइ गर्यौँ । पत्ता लगेका नयाँ ग्रहमध्ये करिब चार प्रतिशत पृथ्वी वा मंगल ग्रहजस्तै चट्टानयुक्त छन् । नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरूको खोजी गर्नेछ !’संरचना र विशेषताहरूको सवालमा यी एक्सोप्लानेटहरू विविध दायराका छन् । कतिपय साना र चट्टानी छन् भने केहीचाहिँ पृथ्वीजस्तै देखिन्छन् ।
खगोलविद्हरूले सन् २०२२ मा पत्ता लगाएको पछिल्लो नयाँ ग्रह एचडी १०९८३३ बी हो । यो वरुण ग्रहजस्तै एक्सोप्लानेट हो, जसले जी–टाइप ताराको परिक्रमा गर्छ । खगोलविद्हरूले यसलाई ट्रान्जिट विधि प्रयोग गरेर पत्ता लगाएका हुन् ।
पछिल्लो खोजमा खगोलविद्हरूले अधिकांश भाग पानीले ओगटेको हुन सक्ने दुइटा एक्सोप्लानेटहरू पत्ता लगाएका छन् । पानी प्रत्यक्ष रूपमा पत्ता लागेको भने होइन । यी दुई ग्रहको आकार र पिण्डलाई नमुनासँग तुलना गरेर हेर्दा तिनको उल्लेख्य हिस्सा (सम्भवतः आधाजति) चट्टानभन्दा हलुका तर हाइड्रोजन वा हिलियम (जुन इलिमेन्टले वृहस्पतिजस्ता विशाल ग्रहहरूको ठूलो हिस्सा समेट्छ) भन्दा गह्रौँ वस्तुबाट बनेको निष्कर्ष अनुसन्धाताले निकालेका छन् । यस्ता वस्तुमध्ये सबैभन्दा आम भनेको पानी नै हो ।