यातायात कार्यालयको अनलाइन सिस्टम व्यवस्थित गर्न मन्त्रालयको निर्देशन

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण
यातायात कार्यालयको अनलाइन सिस्टम व्यवस्थित गर्न मन्त्रालयको निर्देशन

यातायात कार्यालयको दैनिक कामकाजलाई सहज बनाउनेबारे शनिबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित बैठकमा सहभागी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सचिव, यातायात व्यवस्था विभाग र कार्यालय प्रमुख, आइटीविज्ञ, बैंकर्सलगायत ।

यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने बिचौलियाको आतंक बन्द गराउन सचेत

यातायात व्यवस्था विभाग र मातहतका कार्यालयको अनलाइन सिस्टम व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दिएको छ । विभागको अनलाइन सिस्टम बिगिँ्रदा सेवाग्राहीले लाइसेन्स लिने प्रक्रियामा सास्ती खेप्नुपरेको भन्दै भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले त्यसलाई चुस्त पार्न विभाग र मातहतका कार्यालयहरूलाई शनिबार निर्देशन दिएका हुन् । 

मन्त्री श्रेष्ठले यातायात कार्यालयहरूको अनलाइन सिस्टम बिग्रिएकाले त्यसलाई सहज बनाउनेबारे आइटीविज्ञ, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायत कार्यालय प्रमुखहरूसँग छलफलसमेत गरेका छन् । बैठकमा यातायात कार्यालयको भिडलाई कसरी कम गर्न सकिन्छ भन्ने सुझाव लिन विभिन्न निजी बैंकका सिइओहरूलाई पनि बोलाइएको थियो । एउटा बैंकले जसरी सहज रूपमा सेवा प्रवाह गरेको छ, त्यसरी नै सरकारी कार्यालयहरूले पनि सेवा प्रवाह गर्नुपर्ने मन्त्री श्रेष्ठले धारणा राखेका थिए । श्रेष्ठले आइटीविज्ञ प्रयोग गरेर मन्त्रालयले विभागहरूको अनलाइन सिस्टमसमेत अध्ययन गर्ने बताएका छन् । साथै, यातायात कार्यालयहरूमा बिचौलियाले समेत सेवाग्राहीलाई दुःख दिएको भन्दै त्यसबारे सचेत गराउन पनि उनले आग्रह गरेका छन् । 

पछिल्लो समय उपत्यकालगायत देशभरका यातायात कार्यालयहरूमा लाइसेन्स लिन सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रिपरिषद् बैठकले नै सम्बन्धित यातायात कार्यालयहरूलाई सेवा सहज बनाउन निर्देशन दिए पनि यातायात कार्यालयहरूको सेवा प्रवाह भद्रगोल छ । 

पछिल्लो समय अनलाइन फाराम भरेर लाइसेन्सका लागि बायोमेट्रिक दिन पुगेका सेवाग्राहीलाई यातायात कार्यालयहरूले सर्भर बिग्रिएको भन्दै फर्काउने गरेका छन् । यस्तो समस्या अन्त्यका लागि मन्त्री श्रेष्ठले शनिबारको बैठकमा कार्यालय प्रमुखहरूलाई जिम्मेवार हुन आग्रह गरेका हुन् । उनले अनलाइन सिस्टम व्यवस्थित र सहज बनाउन सबै यातायात कार्यालयलाई निर्देशन दिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । उनका अनुसार शनिबार भएको बैठकमा मन्त्री श्रेष्ठले आइटीविज्ञलाई राखेर अनलाइन सिस्टम सुधार गर्न निर्देशन दिएका छन् । ‘पछिल्लो समय यातायात कार्यालयहरूमा सेवाग्राहीले सास्ती खेप्ने गरेका छन्,’ गिरीले भने, ‘त्यसलाई व्यवस्थित गर्न मन्त्रीज्यूले सम्बन्धित क्षेत्रका व्यक्ति र आइटीविज्ञसँग छलफल गर्नुभएको हो ।’

यातायात कार्यालयहरूको अनलाइन सिस्टममा देखिएको समस्या समाधानका लागि कार्यालयहरूलाई आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताएका छन् । हाल उपत्यकामा कुमारीगालमा रहेको यातायात कार्यालयको सर्भर बिग्रिँदा सेवाग्राहीले हैरानी खेप्दै आएका छन् । विभागकै कारण सर्भर बिग्रिएको जनाउँदै कार्यालयले सेवाग्राही फर्काउने गरेको छ । छलफलका क्रममा मन्त्री श्रेष्ठले छिटो–छरितो सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराएका छन् । 

कुमारीगालले असुल्छ दोहोर शुल्क 
सर्भर सिस्टम बिग्रिएको भन्दै सेवाग्राहीलाई सास्ती दिँदै आएको कुमारीगाल यातायात कार्यालयले सर्वसाधारणबाट अतिरिक्त शुल्कसमेत असुल्ने गरेको छ । कार्यालयले बायोमेट्रिक, लिखित, ट्रायल र ट्रायल कुपन गरी चार चरणमा सेवाग्राहीसँग शुल्क असुल्ने गरेको हो । कार्यालयले उठाउँदै आएको शुल्क यातायात व्यवस्था विभागको नियमविपरीत छ । विभागका अनुसार कार्यालयहरूले सेवा दस्तुर र ट्रायल शुल्क लिन पाउँछन् । तर, टोकनसमेत शुल्क उठान पाइँदैन । कार्यालयले ट्रायल दिन जाँदा दिइने टोकनबापत मोटरसाइकल, स्कुटरको तीन सय ५० र चारपांग्रेको सात सय ५० अतिरिक्त शुल्क असुल्छ । तर, यो शुल्क प्रदेश सरकारअन्तर्गत उठाएको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनसमेत अटेर 
सरकारले यातायात, मालपोत, राहदानी, जिल्ला प्रशासनलगायत निकायबाट प्रदान गरिने सेवा–सुविधालाई सहज बनाउने बताए पनि ती कार्यालयले सेवा प्रवाह सहज बनाउन सकेका छैनन् । मालपोत, जिल्ला प्रशासन, राहदानी, यातायातजस्ता कार्यालयहरूमा सेवाग्राहीले सास्ती खेपिरहेका छन् । अझ यातायात कार्यालयहरूमा त झन् अत्यासलाग्दो भिड हुने गरेको छ । कार्यालयहरूले सेवाग्राहीको भिडलाई ख्याल गर्दै कार्यशैली सहज र परिवर्तनको तयारीसमेत गरेका छैनन् । उपत्यकाभित्र कुमारीगाल, एकान्तकुना, जगातीलगायत यातायात कार्यालयहरूमा सेवाग्राहीको भिडभाड हुने गरेको छ । यी कार्यालयहरूले सेवा प्रवाहलाई सहज बनाउन कुनै रणनीति तयसमेत गरेका छैनन् । यातायात व्यवस्था विभागले गत मंगलबार तीनवटै जिल्लाका कार्यालय प्रमुखसँग सेवा प्रवाहलाई सहज बनाउनेबारे छलफल गरेको थियो । तर, सीमित कर्मचारी र संरचनाका कारण सेवा सहज बनाउन नसकिने सम्बन्धित कार्यालयका प्रमुखहरूले विभागका महानिर्देशक टोकराज पाण्डेसमक्ष बताएका छन् । 

सुझावित समाचार