आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

राम्रा खेलाडी अनुबन्धित गरेको संकटाले क्वार्टरफाइनलमा त्रिभुवन आर्मीलाई ३–१ ले हरायो

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा दुवै टोलीले बाई पाएर क्वार्टरफाइनलमा सीधै प्रतिस्पर्धा गरेका हुन् । संकटाले फाइनल प्रवेशका लागि २० पुसमा नेपाल एपिएफ क्लबसँग भिड्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मस्र्याङ्दीले भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाको सामना गर्नेछ । 

संकटाले पोखरामा एकपटक उपाधि उचालेको छ । चारपटक फाइनल पुगेको आर्मी उपाधिविहीन छ । उपाधि उचाल्ने लक्ष्य लिए पनि पहिलो खेलबाटै बाहिरिएपछि आर्मीको च्याम्पियन हुने सपना यसपटक पनि पूरा भएन । गोल्डकपमा संकटा र आर्मीबीच दोस्रोपटक प्रतिस्पर्धा भएको हो ।

०७६ सालमा आर्मीले संकटालाई पराजित गरेको थियो । सोमबारको जितसँगै तीन वर्षपछि संकटाले आर्मीसँग बदलासमेत लिएको छ । खेलमा आर्मीले सुरुवाती अग्रता लिएको थियो । आर्मीले अग्रता रक्षा गर्न नसक्दा अन्तिम आठबाटै बाहिरियो । आर्मीलाई अग्रता दिलाउने क्रममा खेलको १४औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए ।

पेनाल्टीमा आर्मीको अग्रता
संकटाका निशान खड्काले दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्री नवीन्द्र महर्जनले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । श्रेष्ठले पेनाल्टी सदुपयोग गर्दै आर्मीलाई १–० को स्थितिमा राखे । आर्मीले आफ्नो अग्रता लामो समय टिकाउन सकेन ।

खेलको ३५औँ मिनेटमा संकटाले १–१ को बराबरी गोल गर्यो । विदेशी खेलाडी मेसुकेले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । कप्तान सुनिल बलले डिबक्सभित्र मिलाइदिएको छोटो पासलाई मेसुकेले सहजै गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा संकटाले थप दुई गोल गर्यो । खेलको ७९औँ मिनेटमा सुरजजिउ ठकुरीले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । 

खेलका म्यान अफ दी म्याचसमेत रहेका स्टेफन विनोङले पेनाल्टी क्षेत्रबाट पहिलो बारमा च्पाप्दै प्रहार गरेको बल बारमा लागेको थियो । रिबाउन्ड भएको बललाई सुरजले गोल गरे । संकटाले अन्तिम इन्जुरी समयमा ३–१ को अग्रता लियो । संकटाका लागि तेस्रो गोल रुटेफनले गरेका थिए । 
 

सुझावित समाचार