शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगा प्रभावकारी माध्यम हो । यसले आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउँछ । जीवन व्यवस्थित गर्न सहयोग गर्छ । समग्र व्यक्तित्वको विकासमा योगको भूमिका महत्वपूर्ण छ ।
दैनिक कम्तीमा २० देखि ३० मिनेट योगा गर्दा शरीर तथा मस्तिष्क ऊर्जाशील रहन्छ । बिस्तारै फिटनेस लेभल बढ्दै गएपछि योगाभ्यासको समयलाई पनि बढाउँदै लग्न सकिन्छ ।
योग गर्दाका फाइदा
- रक्तसञ्चारमा सुधार आउँछ । परिणामस्वरूप हृदयाघात, मस्तिष्कघात तथा रक्तसञ्चारसम्बन्धी रोग नियन्त्रण हुन्छ ।
- शरीरमा अक्सिजनको मात्रा बढाउँछ ।
- रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
- जोर्नी दुखाइ कम हुन्छ ।
- तनाव हट्छ ।
- पूर्ण निद्रा लाग्छ ।
- भोक लाग्ने र पाचन प्रणालीमा सुधार आउँछ ।
- दिमाग तीक्ष्ण हुन्छ ।
- कार्यक्षमता वृद्धि गर्छ ।
- श्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।
- एकाग्रता बढ्छ ।
- सकारात्मक सोचको विकास हुन्छ ।
- जीवनशैलीमा सुधार ल्याउँछ ।
- आत्मविश्वास वृद्धि हुन्छ ।
कसरी गर्ने ?
योग सुरु गर्दा प्रशिक्षकको सल्लाह र निगरानीमा गर्नुपर्छ । जथाभावी रूपमा यसको अभ्यास गर्दा उल्टै नकारात्मक समस्या पनि देखिन सक्छन् । बिस्तारै योगासनहरूमा अभ्यस्त हुँदै गएपछि आफैँ गर्न पनि सकिन्छ ।
शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्छ । त्यस्ता मानिसले शरीर तात्ने गरी योगाभ्यास गर्नुहँुुदैन । यसले मुटुमा प्रेसर पर्न सक्छ । तनाव लिएर योग गर्नुहुँदैन । तनावपूर्ण अवस्थामा योगको अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेलगायत समस्या आउँछ ।