गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्यले लिए शपथ, अरूको भोलि

गण्डकी प्रदेश सभाकाे अधिवेशन १८ पुसमा आह्वान

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बस्याललाई ज्येष्ठ सदस्यको शपथ गराए । 

एमालेका बस्याल पर्वत १ (२) बाट निर्वाचित भएका हुन् । शपथ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, मन्त्रालयका कर्मचारीलगायत उपस्थित थिए । 

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका कानुनी व्यवस्था रहेको छ । 

प्रदेश सभाका ६० सदस्यमध्ये ज्येष्ठ सदस्य रहेका बस्यालको जन्म ५ भदौ ०१४ सालमा भएको हो । प्रदेश प्रमुखबाट शपथ लिएपछि उनले अन्य ५९ सदस्यलाई भोलि प्रदेश सभा सचिवालयमा पद तथा गोपनीयताको शपथ गराउनेछन् । 

प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले शपथको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । सचिवालयका अभिलेख शाखाका शाखा अधिकृत झनकराज अधिकारीका अनुसार कागजी प्रक्रिया पूरा गर्न प्रदेश सभा सदयहरूलाई शपथ लिनुभन्दा दुई घन्टाअगाडि सचिवालयमा सम्पर्क गर्न सबैलाई सूचित गरिसकिएको छ ।

प्रदेश सभा सदस्यहरूले भोलि निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रको फोटोकपी, नागरिकता प्रमाणपत्रको फोटोकपी र दुई प्रति फोटो लिएर आउनुपर्छ । 

सुझावित समाचार