चार्जिङ स्टेसन नहुँदा साझाले ५७ करोडमा किनेका ३७ विद्युतीय बस थन्किए

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण
चार्जिङ स्टेसन नहुँदा साझाले ५७ करोडमा किनेका ३७ विद्युतीय बस थन्किए

बनेपामा अलपत्र अवस्थामा रहेका विद्युतीय बसको प्राविधिक परीक्षण गरिँदै ।

बससँगै किनिएका १८ वटा चार्जर पनि प्रयोगविहीन, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन सरकारी नारा मात्रै

५७ करोडमा खरिद गरिएका साझाका ३७ वटा विद्युतीय बस चार्जिङ स्टेसन नहुँदा दुई महिनादेखि थन्किएका छन् । प्रतिबस एक करोड ५५ लाखका दरले चिनियाँ कम्पनीसँग किनिएकामा २० वटा काभ्रेको बनेपा र १७ वटा भक्तपुरको राधेराधेमा पार्किङ गरिएका छन् । हाल साझा यातायात प्रालिले गत असारमा खरिद गरेका तीन विद्युतीय बस मात्रै सञ्चालन गरेको छ । 

३७ बससँगै खरिद गरिएका २० मध्ये १८ चार्जर पनि प्रयोगविहीन बनेका छन् । फिटिङका लागि आवश्यक ठाउँ उपलब्ध नहुँदा प्रयोगविहीन भएका हुन् । हाल उपत्यकाभित्र पुल्चोकमा दुई, बल्खु र कालोपुलमा एक–एक तथा बनेपामा एक गरी पाँच स्थानमा मात्रै चार्जिङ स्टेसन छ । यीमध्ये पुल्चोकमा दुईवटा मात्रै साझाका हुन् । चार स्टेसनबाट साझाले आफ्ना बस चार्ज गर्दै आएको छ । कालोपुलको चार्जिङ स्टेसन सुन्दर यातायात प्रालिको हो जुन उसले अरूलाई प्रयोग गर्न दिँदैन । सुन्दर यातायातले चार विद्युतीय सार्वजनिक बस उपत्यकामा र काठमाडौंदेखि पूर्वका लागि आठ मिनीबस चलाउँदै आएको छ । साझाका थन्किएका सबै बस नियमित सञ्चालनमा ल्याउन उपत्यकामा थप १८ चार्जिङ स्टेसन चाहिन्छ । 

आवश्यक चार्जिङ स्टेसन नहुँदा सुविधासम्पन्न बस थन्क्याएर राख्नुपरेको साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए । उनका अनुसार सप्लायर्स कम्पनीले नै ती बस भक्तपुरको राधेराधे र काभ्रेको बनेपामा थन्क्याएको छ । चिनियाँ कम्पनी सिएचटिसिइभीले नानजिङ उत्पादन प्लान्टबाट निर्माण गरेका सबै बस कात्तिकमा चीनको कोदारी–झाङ्मु ल्यान्डपोर्ट हुँदै करिब २० दिन लगाएर काठमाडौं ल्याइएको थियो । यी बसको रुट परमिट, इन्स्योरेन्सलगायत प्रक्रिया पनि अघि बढेको छ । 

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको योजना भए पनि त्यसका लागि आवश्यक संरचना बनाउनतर्फ भने चासो दिएको छैन । हालसम्म सरकारी तवरबाट उपत्यकामा न त विद्युतीय सार्वजनिक बस खरिद गरिएको छ, न त चार्जिङ स्टेसन नै बनेका छन् । केही ठाउँमा सरकारले चार्जिङ स्टेसन बनाउने भने पनि सो काम अघि बढेको छैन । चार्जिङ स्टेसन नै नभएकाले विद्युतीय सवारी सञ्चालन गर्न निजी क्षेत्र पनि हिचकिचाएको छ । सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति बनाए पनि त्यसलाई व्यवहारमा पालना नगर्दा विद्युतीय सरकारी सवारीसाधन योजना अलपत्र परेको तुलाधरको भनाइ छ । ‘हामीले हाम्रा लागि भन्दा पनि सरकारले सबैका लागि चार्जिङ स्टेसन बनाउन आवश्यक छ,’ उनले भने, ‘हामीसँग चार्जर छन्, तर जडान गर्न ठाउँ र संरचना छैन ।’ 

चार्जिङ स्टेसनका लागि संरचना बनाउन जग्गा उपलब्ध गराइदिन साझाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको थियो । बानेश्वरस्थित पुरानो ट्रली बस राखिएको स्टेसन तत्कालका लागि उपलब्ध गराउन माग गरेको थियो । तर, सो ठाउँ नदिँदा समस्या भएको तुलाधरको भनाइ छ । उनका अनुसार ट्रान्समिटर राख्ने, ब्याट्री फिट गर्ने, बिजुलीको तार ल्याउनेलगायत संरचना बनाउनुपर्छ । त्यस्तै, खाली स्पेस पनि बस अट्ने किसिमको चाहिन्छ । सरकारले यो काम गर्दा खर्च कम लाग्ने तुलाधर बताउँछन् । सरकारले चार्जिङ स्टेसन बनाउँदा विद्युत् र जग्गा तथा संरचना उसकै हुने भएकाले कम खर्च लाग्छ । तर, निजी तथा कम्पनीलाई स्टेसन बनाउन उपत्यकामा जग्गाको अपर्याप्तता छ । 

तीन सय विद्युतीय बस किन्ने सरकारको योजना अलपत्र
पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सरकारको लक्ष्य छ । जसअन्तर्गत विद्युतीय यातायातलाई करमा समेत सहजता दिँदै आएको छ । तर, आफैँले विद्युतीय बस खरिद गर्ने योजनालाई कागजमै सीमित गरेको छ । ९ पुस ०७५ मा तीन सय बिजुली बस खरिद गर्ने सरकारी योजना आएको थियो । आफ्नै लगानीमा बिजुली बस किन्ने निर्णय हालसम्म कार्यान्वयन भएको छैन । ०७६ साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई बस किन्न अनुमति दिएको थियो । तर, आफैँले ९ पुस ०७५ मा बिजुली बस खरिद गर्न बनाएकोे योजनाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ असोज ०७६ मा पछि हटेको थियो । 

यस्ता छन् बसमा सुविधा 
बसभित्र सुरक्षाका लागि सिसिक्यामरा र डिस्प्ले बोर्ड पनि राखिएको छ । १२ मिटर लम्बाइ भएको अपांगमैत्री बसभित्र मोबाइल चार्ज गर्ने प्वाइन्टसमेत राखिएको छ ।

एउटा चार्जिङ स्टेसन बनाउन ६०–७० लाख खर्च 
एउटा चार्जिङ स्टेसन राख्नका लागि ६०–७० लाख पर्छ । एउटा स्टेसनबाट एकपटकमा दुईवटासम्म बस चार्ज गर्न सकिन्छ । एउटा गाडी फुल चार्ज हुन चार घन्टा लाग्छ । यति चार्जले १०–१२ घन्टासम्म गाडी गुड्छ । 

हरेक बसमा ४२ सिट, सबै सञ्चालनमा आए यात्रुलाई सहज
साझाले पहिलो चरणमा परीक्षणका लागि ल्याइएका तीनवटा विद्युतीय बस २३ असारदेखि गुडाइएको छ । दुई बस रत्नपार्क–ठमेल–नयाँ बसपार्क–एयरपोर्ट रुटमा चल्छन् । एउटा भने लगनखेल–रत्नपार्क–बुढानीलकण्ठ रुटमा चल्छ । ४२ सिट रहेका तीनवटा मात्रै बस सञ्चालनमा आउँदा पनि यात्रुलाई केही सहज भएको छ ।

सुझावित समाचार