उपभोक्ताको माग सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई लमजुङका सांसदको आग्रह

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण

लमजुङबाट निर्वाचित  प्रतिनिधिसभा र प्रदेश सभा तथा राष्ट्रिय सभाका सांसदले लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताको मागलाई सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह गरेका छन् ।  

सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाका सांसदद्वय पृथ्वी सुव्वा गुरुङ, उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, प्रदेश सभाका सांसद डा. टकराज गुरुङ, भेष वहादुर पौडेल, पार्वती तामाङ, टीका कुमारी बस्याल र यशोधा रिमालले उपभोक्ताको मागको सम्बोधन गर्न आग्रह गरेका हुन् ।

हाइड्रोले राइनासटार सिंचाइ आयोजनाका १४ हजार जनताको ८५० हेक्टर जमिन सिञ्चित हुँदै आएकोमा राइनासटार सिंचाइ आयोजनाको मुहान भन्दा २ सय मिटर तल पावरहाउसमा पनि राइनासटार सिंचाइ आयोजना प्रत्यक्ष प्रभावित हुने भन्दै डिजाइन परिवर्तन गर्न विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा राइनासटार सिंचाइबाट हालसम्म लाभान्वित कृषकहरुको  माग सम्बोधन गर्न र आवश्यकता अनुसार आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेमा समेत तयार हुन चम्पावती हाइड्रोपावरलाई आग्रह गरिएको छ ।

साथै जनतालाई हतोत्साही नबनाउन र केही उपभोक्ताहरुलाई मुद्दा लगाइएको  हुँदा यस्ता कार्य नगर्न र शिघ्र वार्तामा बसी सहज वातावरण वनाउन चम्पावती हाइड्रोपावरलाई भनिएको छ । 

३५ बर्षदेखि संचालनमा रहेको राइनासटार  सिंचाइ आयोजनाबाट राइनास नगरपालिका १ देखि ७ सम्मका ३ हजार ५ सय घरपरिवारका १४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

सुझावित समाचार