फास्ट फेसनको कुरूप वास्तविकता

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

विश्वका सात करोड ५० लाख गार्मेन्ट श्रमिकमध्ये दुई प्रतिशतले मात्र ज्यालाबाट आरामदायी जीवनयापन गर्न सक्छन् 

अनलाइन सुपरस्टोरको गोदामको मौसमी श्रमिक हुँ । हप्ताको पाँच दिन ती गोदाममा फर्किएका कपडाले भरिएका टोकरीमाझ उभिएबापत म घन्टाको १८.७५ डलर कमाउने गर्छु । मैले त्यहाँ दुई मिनेटभित्र कुनै कपडा पुनः बेच्न उपयुक्त छ कि छैन भन्ने निर्धारण गर्नुपर्छ । म गोदाम फर्किएर आएका कपडामा दाग लागेको वा कुनै बटन खसेको छ कि भनेर हेर्छु । वाथिङ सुटमा स्वच्छता दर्साउने लाइनहरू खोज्ने गर्छु । स्वेटरहरूका बाहुलाहरू उल्टाएर तिनका काखी उध्रिएका छन् वा कुनै दुर्गन्ध आइरहेको छ कि भनेर जाँच पनि गर्ने गर्छु । जुत्ता पल्टाएर तिनको सोल फोहोर छन् कि भनेर नियाल्छु । जुत्तामा मैले सावधानीपूर्वक पन्जा लगाएको हात छिराएर पनि हेर्नुपर्छ । भर्खरै मैले फिर्ता आएको टिम्बरल्यान्ड ब्रान्डको जुत्ताभित्र एक जोडी मोजा फेला पारेको थिएँ ।

कपडा मबाट पास भएर अगाडि बढेपछि पनि यी कपडासँग जोडिएर एउटा प्रश्न बाँकी नै रहन्छ : आखिर वातावरणलाई थप लागत भार थोपर्ने र कम ज्यालाका मजदुरले बनाएका यी डिस्पोजेवल कपडा हामी किन्छौँ ? विगतमा अनलाइन सुपरस्टोरका मुख्यालयका व्यापार रणनीति तयार पार्ने काममा संलग्न म अहिले स्नातकोत्तर तहमा अध्ययनरत छु । मैले पहिले अनलाइन सुपरस्टोरको मुख्यालयमा रहेर व्यापार रणनीति विकास गरेँ । अब स्नातक गर्दै छु र गति र स्तरमा कम्पनीको ध्यानले गोदामका कामदारलाई कसरी प्रभावित गर्छ भनेर अध्ययन गर्न यो काम लिएको छु । के कर्पोरेटको काम गर्ने शैली गोदामको वास्तविकतासँग मेल खान्छ ? मैले छिटै के थाहा पाएँ भने वास्तविकतामा ठूलो परिमाणमा ‘फास्ट फेसन(द्रुत फेसन)’ व्याप्त छ : यस श्रेणीको द्रुत गतिमा उत्पादन गरिएका सस्तो कडपामा टोपसप, जारा, एचएन्डएम, सेइन र फरेएभर२१ समेत सरिक छन् ।

एउटा सिफ्टमा म सस्तो, सिन्थेटिकका कपडाबाट बनेका आकारविहीन कपडाहरू प्रशोधन गर्छु । धेरैजसो वस्तुहरू चिनियाँ उत्पादकबाट आउँछन्, जसमा स्विटिरक्स र अटोमेटजस्ता अनौठो ब्रान्ड नाम छन्, जुन इन्टरनेटका कुनै स्वायत्त कार्यक्रमले सिर्जना गरेको ब्रान्डजस्तो सुनिन्छन् । खराब गुणस्तर कुनै कपडा पुनः बिक्रीमा पठाउनबाट रोकिने कारण होइन । पातलो क्लबमा लगाइने फिटिङ कपडा, सस्ता टिसर्टदेखि अनौठो रङका पोलिस्टरका म्याक्सिमा ब्रान्डका ट्यागहरू हुँदैनथे । मानौँ, ब्रान्डहरू ती कपडा आफ्ना हुन् भनेर चिनाउन लजाउँथे । 

म कपडाप्रति नकारात्मक टिप्पणी गर्ने ग्राहकका प्रतिक्रिया पनि निगरानी गर्थें । जसमा धेरैजस्तो कम गुणस्तरको सामग्री र अनलाइनमा देखाइएअनुरूपको आकार तथा गुणस्तर नभएको गुनासा धेरै हुन्थे । गत साता मेरो हातमा एउटा खैरो टिसर्ट पर्यो, जसको शरीरको हिस्सा निकै फराकिलो थियो भने बाहुला भने निकै पातलो थियो । सुपरस्टोरको वेबसाइटमा देखाइने कपडाको तस्बिर र वास्तविक कपडाबीच मेल नहुने आम समस्या रहेछ । 

जब हामी एक क्लिकको भरमा ‘फास्ट फेसन’ किन्छौँ, हामी एउटा यस्तो प्रणालीलाई सघाइरहेका हुन्छौँ, जसमा संसारको एक कुनामा न्यून ज्यालामा काम गर्ने श्रमिकले कपडा निर्माण गर्छन् र अर्को कुनाको न्यून पारिश्रमिकयुक्त श्रमिकले तिनको प्रशोधन गर्छन् 

गोदामका सबैभन्दा राम्रो दिन आइतबार हुने गर्छ । यो दिन चर्को अंग्रेजी र स्पेनिस पप संगीत सुन्दै हामी कार्य स्टेसन छनोट गर्न सक्छौँ । म दुई जवान आमाको छेउमा काम गर्ने गर्छु । यिनले मसँगै यहाँ काम गर्न थालेका हुन् । बिपिङ स्क्यानर, चलिरहने कन्वेयर बेल्टहरू र फर्किएर आएका कपडाका अन्तहीन टोकरीमाझ हामी त्यो वेलासम्म कपडातर्फ निहुरिरहेका हुन्छौँ, जबसम्म हाम्रो हातमा आएको अनौठो कपडा देखाउन एकअर्कालाई बोलाउँदैनौँ । 

विश्रामको समयमा हामी म्याक्सीलाई मिलाएर झोलामा हाल्न आइपर्ने कठिनाइबारे कुरा गर्र्छौं । हामी पहिलो दिन काममा आउँदाको समय सम्झिएर हास्छौँ । त्यस दिन हामी सर्लक्क कोरिएरको कपाल र मेकअपसहित काममा आएका थियौँ । आजकल हामी ओछ्यानबाट निस्किएर सीधै काममा आउँछौँ । त्यहाँ एकखाले स्वतन्त्रता छ, जुन मैले अपेक्षा गरेको थिइनँ । न राम्रो देखिनुपर्ने दबाब, न मूल कामबाहेक सहायक सिप जान्नुपर्ने बाध्यता, न त अनन्त इमेल नै । तैपनि, यहाँ गरिने काम मैले विगतमा गरेका कर्पोरेट भूमिकाजस्तै उपभोक्तावादसँग गहिरोसँग जोडिएको छ । 

विगतको कर्पाेरेट काम गर्दा प्राप्त भएको सेयरबाट प्राप्त हुने बोनसले मलाई गोदामको कामले मात्र पाइने घन्टाको अपर्याप्त ज्यालामा पनि गाह्रो भएको छैन । एक अधिकारकर्मी समूहले संकलन गरेको तथ्यांकअनुसार विश्वका सात करोड ५० लाख गार्मेन्ट श्रमिकमध्ये दुई प्रतिशतले मात्र तिनको ज्यालाका आधारमा आरायादायी जीवनयापन गर्न सक्छन् । जब हामी हाम्रो पलङबाट एक क्लिकको भरमा ‘फास्ट फेसन’ किन्छौँ, हामी एउटा त्यस्तो प्रणालीलाई सघाइरहेका हुन्छौँ, जसमा संसारको एक कुनामा न्यून ज्यालामा काम गर्ने श्रमिकले कपडा निर्माण गर्छन् र अर्को कुनाको न्यून पारिश्रमिकयुक्त श्रमिकले तिनको प्रशोधन गर्छन् र सहरका कंक्रिटमा ती देखिँदैनन् । 

अब, कसैले तर्क गर्न सक्छ कि गार्मेन्टमा लामो समय काम गरेपछि मानिसहरू गरिबीबाट बाहिरिन्छन् वा उनीहरूसँग अन्य क्षेत्रमा जाने स्रोत हासिल हुन्छ । यदि उपभोक्ताहरूले उच्च मूल्य तिरेनन् भने पनि ब्रान्डहरूले न्यून ज्याला वा असुरक्षित कार्य अवस्था सिर्जना गरेर मुनाफा बढाउँछन् नै । घाटामा श्रमिक पर्छन् । यसका लागि स्विटिरक्स सर्टको २६.९९ डलरको अर्थतन्त्रबारे विचार गर्नुस् । त्यो मूल्यले कसरी सामग्री, श्रम, विश्वव्यापी ढुवानी र तपाईंको ढोकासम्मको डेलिभरीको लागत थेग्छ होला ? अझ यदि कपडामा कुनै खोट देखिँदा गोदाममा फर्किंदासम्मको खर्च पनि यसमा जोडिएको हुन्छ । गोदाममा मजस्ता व्यक्तिले ती पहिरन कुनै व्यक्तिले कुकुरलाई लिएर हिँड्दा लगाउँछ कि लगाउँदैन भनेर मूल्यांकन गर्नुपर्छ ।

यदि सर्ट बेच्न नमिल्ने भनेर निक्र्योल भयो भने त्यो ल्यान्डफिलमा पुग्छ, जहाँ पोलिस्टर सड्न दुई सय वर्ष लाग्छ । वास्तवमा, प्रत्येक वर्ष ६६ प्रतिशत कपडाहरू ल्यान्डफिलमा पुग्ने र अर्को १९ प्रतिशत जलाइने गरेको सन् २०१८ को इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सीको रिपोर्टले देखाउँछ । ब्रान्डहरू आफू टिकाउ प्रयासमा प्रतिबद्ध रहेको बताउँछन्, तर फास्ट फेसनले स्थायित्वसँग कसैगरी पनि मेल खाँदैन । हामी आर्थिक वृद्धि असीमित छ भन्ने विश्वासमा काम गर्छौं, तर हाम्रा प्राकृतिक स्रोतहरू असीमित छैनन् ।

गोदाममा दिन बित्दै जाँदा एक प्रबन्धकले सोध्नेछ, ‘तपाईंले प्रतिघन्टा प्रशोधित गर्ने कपडाको दर जान्न चाहनुहुन्छ ?’ मेरो त्यो संख्या २३ देखि २६ रहन्छ । यो दर मैले पहिले गरेको काम र अहिले गरिरहेको कामबीचको अर्को सम्बन्ध अर्थात् डेटा हो । चम्किलो अफिस टावर बोर्डरुममा, म गहन साप्ताहिक व्यापार समीक्षामा भाग लिन्थेँ, जहाँ म कपडा होइन, कागज प्रशोधन गर्थें । प्रत्येक कर्पोरेट प्रबन्धकलाई डेटाको अत्यधिक गहिराइ जान्न आवश्यक हुन्छ । 

कर्पोरेटमा काम गर्दा मेरो विभागका उपाध्यक्ष आफूमातहतका कर्मचारी तथ्यांक निकाल्न घोटिएको हेर्नमा आनन्द मान्थे । यहाँ गार्मेन्टको गोदाममा हरेक दिन मजस्तै कोही न कोही फर्किएका कपडा किन तलमाथि भए भन्ने प्रश्नको जवाफ दिन तयार हुनुपर्छ । म रिपोर्ट दिने ठाउँमा नभएर आफैँ तथ्यांकमा डुबेको छु ।

मसँगै काम सुरु गरेकी एक युवा आमा भर्खरै उनको हाईस्कुल डिप्लोमा अध्ययनका लागि स्कुल फर्किइन् । अर्की आमा यो काम उनको छोराको स्कुलको समयमा भएकोप्रति कृतज्ञ छिन् । म भने अझै पनि मेरो प्रारम्भिक प्रश्नको जवाफ खोज्दै छु । यसबीचमा मैले के सिकेको छु भने म चाहे अग्ला भवनका अफिसमा हुँ वा कपडाका गोदाममा, म त्यो प्रणालीको हिस्सा हुन्छु, जसमा विदेशमा कपडा बनाउने श्रमिक, ती कपडा बोक्ने कार्गो जहाजका चालक दल, डेलिभरी ड्राइभर, तथ्यांक व्याख्या गर्ने प्रयास गरिरहेका कर्पोरेट प्रबन्धक र गोदामका कामदार सहभागी छन् । हामी केही समय प्रयोग गरेर (कपडा) फाल्ने प्रणालीलाई समर्थन गरिरहेका छौँ । यी कपडा धेरै हात हुँदै संसारको यात्रा गरेर हामीसामु आइपुग्नलायकका कपडा होइनन् । 

पूर्व टेक एक्जेक्युटिभ रचेल ग्रिनली अहिले केही समयका लागि कपडा गोदाममा कार्यरत छिन् । मास्टर अफ फाइन आर्टस्की विद्यार्थी ग्रिनली सांस्कृतिक विभाजनबारे संस्मरणमा काम गर्दै छिन् । 

– न्युयोर्क टाइम्स 
 

सुझावित समाचार