एकै खेलमा धेरै गोल बचाउने गोलरक्षक होवार्ड

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

२२औँ विश्वकप फुटबल प्रतियोगितामा मोरक्को र क्रोएसियाका दुवै गोलरक्षकको चर्चा भइरहेको छ । यी दुवै गोलरक्षकले पेनाल्टी सुटमा उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो राष्ट्रलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्याए । मोरक्कोका बोनोले पूर्वविजेता स्पेनिस खेलाडीको दुई पेनाल्टी बचाएका थिए । बोनोले जस्तै विश्वकपमा अरू गोलरक्षकले यस्तै प्रदर्शन गरेका छन् । गोलरक्षकमध्ये अमेरिकाका टिम होवार्डको चर्चा अलि फरक छ । 

होवार्डले विश्वकपमा अचम्मको रेकर्ड आफ्नो नाममा लेखाएका छन् । सन् २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा अमेरिका र बेल्जियमबीच प्रिक्वार्टरफाइनल खेल भएको थियो । यस खेलमा बेल्जियमले अतिरिक्त समयमा अमेरिकालाई २–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गर्यो । 

फिफा वरीयताको शीर्ष दशभित्र रहेको बेल्जियमले अतिरिक्त समयमा जित निकाल्नुपछाडि अमेरिकी गोलरक्षक होवार्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस खेलमा होवार्डले बेल्जियमले प्रहार गरेको १६ वटा गोल प्रयासलाई विफल पारेका थिए । विश्वकप इतिहासमा एक गोलरक्षकले एकै खेलमा धेरै गोल क्लियर गर्ने होवार्ड मात्र हुन् । निर्धारित समयमा अमेरिका र बेल्जियमले गोलरहित बराबरी खेलेका थिए । 

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा बेल्जियमले बाजी मार्यो । बेल्जियमले खेलको ९३औँ मिनेटमा १–० को अग्रता लियो । अमेरिकाले अन्तिमतिर डिफेन्स कमजोर बनाउँदा बेल्जियमले खेलको १०५औँ मिनेटमा २–० को अग्रता लियो । खेलको १०७औँ मिनेटमा अमेरिकाले २–१ को गोलअन्तर बनायो ।

See More On

सुझावित समाचार