एपिक्याट सम्मेलन : सुर्तीजन्य पदार्थ नियन्त्रणमा एसिया प्रशान्त क्षेत्रका मेयरहरू एकजुट

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण

इन्डोनेसियाको बालीमा जारी एसिया प्यासिफिक सिटिज अलाइन्स फर टोबाको कन्ट्रोल एन्ड ननकम्युनिकेबल डिजिज (एपिक्याट)को सातौँ शिखर सम्मेलनमा सहभागी एसिया प्रशान्त क्षेत्रका मेयरहरू सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणमा एकजुट देखिएका छन् । बिहीबार सुरु भएको सम्मेलनमा नेपालसहित भारत, सिंगापुर, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, कम्बोडियालगायत १२ देशका ८२ सहरका नगरप्रमुखहरू तथा अधिकारीहरू सहभागी छन् । 

नेपालबाट ललितपुर र भरतपुर महानगरलाई निमन्त्रणा गरिए पनि भरतपुर महानगरका प्रतिनिधि मात्रै सम्मेलनमा सहभागी छन् । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी, भरतपुर महानगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले र सञ्चारकर्मीहरू सम्मेलनमा सहभागी छन् । सुर्तीजन्य पदार्थ सेवन तथा नसर्ने रोगको रोकथाम र प्रकोपलाई प्रमुख मुद्दाका रूपमा सम्मेलनमा अघि सारिएको छ । एसिया प्रशान्त क्षेत्रका देशहरूको सहभागितासहित एपिक्याटले हरेक वर्ष फरक–फरक देशका सहरमा सम्मेलन आयोजना गर्दै आएको छ । कोरोना संक्रमणका कारण पाँच र छैटौँ सम्मेलन भर्चुअल माध्ययबाट गरिए पनि यस वर्षदेखि प्रत्यक्ष सहभागितामा आयोेजना गरिएको हो ।  

सम्मेलनको दोस्रो दिन दिन शुक्रबार आगामी एजेन्डा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण रोकथाममा कसरी सहकार्य गर्ने भन्नेबारे विभिन्न देशका मेयर तथा स्वास्थ्यकर्मीबीच छलफल भएको छ । त्यस्तै, सम्मेलनको पहिलो दिन बिहीबार धूम्रपानरहित वातावरण निर्माणका लागि सुर्तीजन्य पदार्थको विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, इ–सिगे्रट सेवन र बिक्रीमा रोक लगाउने, चेतावनीमूलक सन्देशसहितको प्याकिजिङ कार्यान्वयन गर्नेसहित पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो ।

सम्मेलनमा सहभागी मेयर तथा स्वास्थ्य अधिकारीहरूले महानगर, नगर तथा विभिन्न सहरका कार्यालय, विद्यालय तथा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गर्नेबारे छलफल गरेका छन् । बालीस्थित बोगरका नगर प्रमुख डा. बिमा आर्या सुगियारटाले सुर्र्तीजन्य पदार्थको नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता नै मुख्य विषय रहेको बताए । सुर्तीजन्य पदार्थको कर बढाउने, प्रयोगकर्ता  घटाउने, विज्ञापन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, उद्योगहरूलाई निरुत्साहित गर्नेजस्ता कार्यक्रम आवश्यक रहेको उनले बताए । ‘टोबाको फ्री जेनेरेसनका लागि युवाहरूमा उत्प्रेरणा र यसको हानिबारे जनचेतना दिन जरुरी छ,’ उनले भने, ‘स्थानीय सरकारहरूले पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरण तथा रोकथामबारे चासो दिनुपर्छ ।’ 

बालीका नगरप्रमुख गुस्टी एनगुराह जया नेगाराले सुर्तीजन्य पदार्थ रोकथाममा लागेको बताए । सन् ०२४ सम्म सुर्तीजन्य पदार्थको सेवन गर्ने युवाहरूको संख्या ९ दशमलव ४ बाट ८ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको उनको भनाइ छ । सम्मेलनमा रिपब्लिक अफ इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको जानकारी गराए ।

सुझावित समाचार