विश्वकप इतिहासमा खेलाडीले विभिन्न किसिमका रेकर्ड राखेका छन् । यसैक्रममा इजिप्टका इसाम एलको नाममा एक अनौठो रेकर्ड छ । सन् २०१८ को रसिया विश्वकपमा इसामले इजिप्टबाट साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । उनी गोलरक्षक भूमिकामा मैदानभित्र प्रवेश गरेका हुन् । २५ जुन २०१८ मा साउदी अरेबियासँगको खेलमा मैदानमा उत्रँदा उनी समग्र विश्वकप इतिहासकै पाका खेलाडी बने । इसामले कोलम्बियाका फार्ड मोन्ड्रागनको नाममा विश्वकपमा रहेको रेकर्ड तोडेका थिए ।
४५ वर्ष एक सय ६१ दिनमा उनले विश्वकप खेले । सन् १९९६ देखि २०१८ सम्म इजिप्टको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका इसामले एक सय ५९ पटक अन्तर्राष्ट्रिय खेल खेले । अहिले इसाम इजिप्टकै गोलरक्षक प्रशिक्षकमा कार्यरत छन् । आफ्नो पूरै करिअर अफ्रिकन क्लबमा बिताएका इसामको निकनेम ‘हाई डाम’ हो । इजिप्ट फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडीमा उनी पर्छन् । इजिप्टको जर्सीमा अन्तर्राष्ट्रिय खेल खेल्ने इसाम तेस्रो खेलाडी हुन् ।
इजिप्टबाट उनले चारपटक अफ्रिकन कप जितेका छन् । अफ्रिकन महादेशमा इसामलाई अहिलेसम्मकै अब्बल गोलरक्षकका रूपमा लिने गरिन्छ । उनले अफ्रिकन कपमा तीनपटक उत्कृष्ट गोलरक्षकको उपाधि जितेका छन् । रसिया विश्वकपमा इजिप्ट पहिलो चरणबाटै बाहिरिएपछि उनले सन्न्यास लिए । चोटका कारण इसामले सन् २०१८ मै सन्न्यास लिएका थिए ।
सन्न्यासपछि उनले ट्युनिसियाको इटोली साहेल क्लबका मुख्य प्रशिक्षकका रूपमा काम गरे । सन् २०१९ मा फिफाले इसामले रसिया विश्वकपमा लगाएको ग्लोब्स संग्रहालयमा राखेको थियो । फिफाको फुटबल संग्रहालयमा उनको कीर्तिमानी ग्लोब्स प्रदर्शनीमा राखिएको छ ।