मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलाली-५ मा मतगणना अनिश्चित

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि कैलाली क्षेत्र नम्बर-५ को मतगणना अनिश्चित बनेको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट ढलेका थिए । डाक्टरको सल्लाहअनुसार उनी अहिले आराम गरिरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उच्च रक्तचापका कारण अर्यालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । सर्वदलीय बैठकमा सहभागी नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि मतगणनाबारे कुनै सहमति नभएको बताए । 

बैठकमा सत्तारुढ गठबन्धनले वडा–वडाको अलगअलग मतगणना हुनुपर्ने माग गरेको थियो । नेकपा एमालेले भने सबै मत मिसाएर गणना गर्नुपर्ने अडान लिएको थियो । ‘मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि थप छलफल भएको छैन’ सचिव सुनारले भने, ‘बैठकमा हामीले आफ्नो कुरा राख्यौँ, वडा-वडाको छुट्टाछुट्टै गर्ने वा एउटैमा मिलाएर गर्ने भन्ने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ला ।’ 

यो क्षेत्रमा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वटा वडा पर्छन् । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट काँग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा छ ।
 

सुझावित समाचार