हुम्लाका विभिन्न मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै मतदान केन्द्रमा पुगेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि कर्मचारीहरू मतदान केन्द्रमा पुगेका हुन्।
गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले क्षतविक्षत बनाएका बाटाघाटामा जोखिम मोल्दै मतदान केन्द्रतिर खटिन परेको अदानचुली गाउँपालिका- ४ स्थित सुपाखेत आधारभूत विद्यालय बारीगाउँ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुलाल सार्कीले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक २६ गतेदेखि कर्मचारी खटनपठन गरेलगत्तै उनीहरूले निर्वाचन सामग्री बोकेर लैजाँदा जिल्लाका खार्पुनाथदेखि सर्केगाडको दुल्लीकुनासम्मको बाटो कष्टकर बनेको सार्कीले बताए।
ताँजाकोट गाउँपालिका-१ स्थित जनप्रकाश माध्यमिक विद्यालय काँडागाउँ मतदान केन्द्रमा चुनाव गराउन खटिएका मतदान अधिकृत कालीबहादुर बुढाको पनि उस्तै गुनासो रहेको छ।
हालसम्म सर्केगाड, चंखेली, अदानचुली र ताजाँकोटका २७ वटा मदातन केन्द्रका मतदान अधिकृतले निर्वाचन सामग्रीसहित मतपत्र बुझेर खटिएको बताए। दक्षिणी र मध्य भेगका गाउँपालिकाका मतदान अधिकृतहरूले निर्वाचन कार्यालय हुम्लाले खरिद गरेका र मतदान केन्द्रमा आवश्यक पर्ने १५ प्रकारका सामग्री लगेको जिल्ला निर्वाचन निमित्त अधिकारी श्यामबहादुर रानाले बताए।