नेपाल पत्रकार महासंघमा हालै निर्वाचित पत्रकारहरूको सम्मानमा कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस मधेश प्रदेशको जनकपुरधामस्थित कार्यालयमा आइतवार आयोजित उक्त कार्यक्रममा प्रदेशको आठवटै जिल्लामा निर्वाचित पदाधिकारीहरुको सम्मानमा विभागले शुभकामना कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा मधेश प्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता भएको र पत्रकारिता क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । महासंघका आठवटै जिल्ला र प्रदेशमा निर्वाचित भएका पत्रकारहरुलाई लोकतन्त्रलाई बलियो बनाउने पक्षमा निरन्तर रुपमा निर्भिक भएर कलम चलाई समाजलाई विकासको पथमा रुपान्तरित गर्दै अघि बढ्ने दायित्व पत्रकारकाे काँधमा आएको उनले बताए।
कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री विरेन्द्रप्रसाद सिंहले पत्रकार समाजको ऐना भएको र समाजलाई विकसित एवं स्वच्छ बनाउन पत्रकारको भूमिका अति नै महत्वपूर्ण हुने बताए ।
प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले मधेश प्रदेशलाई अन्य प्रदेशको दाँजोमा सम्मुन्नत बनाउन पनि संचारकर्मीहरूबाट आउने सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढ्ने बताए ।
प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद नागेन्द्र साह, महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादव, कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष सूर्य थापाले नवनिर्वाचित महासंघ शाखा तथा मधेश प्रदेशका पदाधिकारुहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिए।
कार्यक्रममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा निर्वाचित भएका पदाधिकारीहरुको उपस्थिति रहेको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।