मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार २o:४६:oo
Read Time : > 1 मिनेट
समाचार

६ वर्षदेखि कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार २o:४६:oo

कोठामा थुनिएर बस्न बाध्य खोटाङका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको माया घर नेपाल इटहरी सुनसुरीले उद्धार गरेको छ । ६ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन ९ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई माया घर नेपालले आज उद्धार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा बन्धक अवस्थामा रहेका एक बालकसहित सहाराविहीन चार बालबालिकाको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरेको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए । ‘चारैजना बालबालिकालाई इटहरी पठाइएको छ । उनीहरुको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार माया घर नेपालले गर्छ,’ उनले भने ।

आफ्नै बुबाआमाले घरको एउटा कोठामा पशुसरह थुनेर राखेको ठाउँबाट उद्धार गरिएका राखाबाङ्देका अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा छन् । अङ्गबहादुरको बुबाआमा दुवैजना भए पनि कमजोर आर्थिक अवस्थाका कारण उनलाई कोठामा थुनेर बनीबुतो गर्न जाने र उनीहरु उतै बस्ने गरेको पाइएको उद्धारमा सहभागीहरुले बताएका छन् । उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले समेत अर्कै व्यक्तिसँग विवाह गरेकी थिइन् । आमाले विवाह गरेको व्यक्ति (सानाबुबा)ले समेत सुजतालाई हेला गर्दा खान र लुगासमेत नपाएकोले उद्धार गरिएको हो ।

सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षाका लागि गाउँपालिकामा कुनै व्यवस्था नभएकाले माया घर नेपाललाई जिम्मा दिएको राखाबाङ्देलका वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिए । 

उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेकी थिइन् । बुबाआमा दुबैको सहारा नपाएका विश्वहाङलाई छिमेकीकामा बसिरहेको अवस्थाबाट उद्धार गरेर इटहरीस्थित आश्रयस्थल पठाएको बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । 

बुइपाकै रुविनको बुबा अपाङ्ग रहेको र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको हो । रुविनको बुबा शारीरिकरुपमा अपाङ्ग तथा आमा दीर्घरोगी भएकाले उनीहरुको जीवनयापनमा समेत समस्या रहेको वडाध्यक्ष राईले जानकारी दिए । उद्धार गरिएका चारैजना सहाराविहीन बालबालिकालाई ऐसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आइतबार नै इटहरी पठाइएको जनाइएको छ ।