१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार ०६:१३:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचनमा तीन दिन सार्वजनिक बिदाको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार ०६:१३:००

 ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर शनिबार पर्छ ।

केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ । 
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ । 

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । ‘तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुन्छ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘धेरै मतदान हुने आकलनका आधारमा पनि हामीले यस्तो सिफारिस गरेका हौँ ।’ 

निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगको सिफारिसअनुसार यसबारे सरकारबाट निर्णय भएपछि सार्वजनिक गर्नेछौँ ।’ त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।