
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता–कार्यकर्ताहरूलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरि खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरे । कार्यक्रममा लामाले कम्युनिस्ट पार्टीको रक्षा पुनः एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।