
बुधबार कैलालीको सुखडमा गठबन्धनको संयुक्त चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने
तीन दिनदेखि धनगढीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरिरहेतका छन् । धनगढीस्थित निजीनिवासमा बसिरहेका प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्ताबाट यहाँका विभिन्न निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी लिने, चुनाव सशक्त रूपमा परिचालन हुन निर्देशन दिने र कतिपय असन्तुष्टलाई मनाउने कोसिस गरिरहेका छन् ।
गृहजिल्ला डडेल्धुरामा चुनावी सभामा सहभागी भएर उनी गत आइतबार धनगढी आइपुगेका थिए । यहाँ आएलगत्तै उनले भेटघाट तीव्र पारेका हुन् । ‘निर्वाचनमा बढी प्रभाव पार्न सक्ने, तर चुनावी प्रचारमा नदेखिएका पार्टीका नेता, समर्थकलाई निवासमै बोलाएर निर्वाचनमा खटिनका लागि मनाइरहनुभएको छ,’ कांग्रेसका एक नेताले भने, ‘सबैजसो भेट निर्वाचनकेन्द्रित छन् ।’
यहाँबाट कैलाली मात्र नभएर सुदूरपश्चिमका सबै जिल्लाको निर्वाचनलाई प्रधानमन्त्रीले चासो दिइरहेका कांग्रेस नेताहरूले बताएका छन् । अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिनुका साथै निर्वाचनमा सशक्त रूपमा खटिन निर्देशन दिइरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए । उम्मेदवारी चयनको विषयमा असन्तुष्ट केही नेता, कार्यकर्ता र पार्टीका बागी उम्मेदवारसँग छलफल गरे पनि असन्तुष्टलाई प्रधानमन्त्रीले त्यतिधेरै महत्व नदिएका सुनारले दाबी गरे ।
धनगढी र अन्य केही क्षेत्रमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार, आन्तरिक विवादजस्ता कारणबाट चुनौती देखिएपछि ‘माहोल मिलाउन’ प्रधानमन्त्री धनगढी बसेको कतिपयको आकलन छ । धनगढी उपमहानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन् । त्यस्तै, क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र १ मा पूर्वमन्त्री रामजनम चौधरी छन् । २ र ३ मा गठबन्धनबाट माओवादीका भगत बडुवाल र कृष्ण चौधरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारी गठबन्धनको ‘टाउको दुखाइ’ बनेको छ । काँग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्रीले चुनावमा प्रभाव पार्न सक्ने पार्टीनिकट व्यक्तिहरूलाई निवासमै बोलाएर छलफल गरिरहेका कांग्रेसका एक नेताले बताए । सचिव सुनारले भने स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाएको मतका आधारमा क्षेत्र नम्बर ५ मा त्यति चुनौती छैन भन्ने बुझाइ नेतृत्वमा रहेको बताए । सुदूरपश्चिममा चुनावी सभाका लागि आउने तय भएकाले प्रधानमन्त्री केही दिन धनगढी बसेको कांग्रेस नेताहरूले बताएका छन् ।