१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ कार्तिक २२ मंगलबार ११:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि अध्यापन गर्दै केयू

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार ११:५२:००

काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि विषय अध्यापन गर्ने भएको छ। आगामी शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा हेल्थ इन्फरम्याटिक्स विषयमा अध्यापन सुरु गर्ने भएको हो। हेल्थ इन्फरम्याटिक्स स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको सम्मिश्रण हो।

यस विषयको प्रमुख उद्देश्य स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्यांक प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरूको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नवीन खोज एवं अन्वेषण गर्ने रहेको हेल्थ इन्फरम्याटिक्स, स्नातकोत्तर कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालले जानकारी दिए । नेपालमा मात्र नभएर विश्वभर हेल्थ इन्फरम्याटिक्सका जनशक्तिको प्रचुर आवश्यकता रहेकाले केयूले यस विषयमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको खनालको भनाइ छ।

उपप्राध्यापक तथा  कार्यक्रम संयोजक खनालले  कार्यक्रमको विस्तृत विवरण पेस गर्दै यो शैक्षिक कार्यक्रममा शोधकार्यसहित कुल ४८ क्रेडिट कोर्स अध्यापन हुने जानकारी दिए। यो शैक्षिक कार्यक्रमको अवधि दुई वर्ष रहनेछ। यस शैक्षिक कार्यक्रममा हाललाई एकपटकमा १० विद्यार्थी भर्ना गरिने खनालले जानकारी दिए।

यही नाभेम्बर २०२२ भित्रै हेल्थ इन्फरम्याटिक्सको भर्ना प्रक्रिया सुरु गरी यथाशीघ्र पठनपाठन सञ्चालन गर्ने स्कुल अफ इन्जिनियरिङका डिन प्राचार्य डा. मनीष पोखरेलले बताए। दिगो विकास लक्ष्य– ३ लाई मूर्तरूप दिन पनि यस विषयको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

डिर्पाटमेन्टका सहप्राध्यापक डा. रवीन्द्र विष्टले सन् २०१३ देखि सुरु भएको हेल्थ इन्फरम्याटिक्स अध्यापन गराउने अभियान अब छिट्टै यथार्थमा परिणत हुन लागेको बताए। यो कार्यक्रम स्थापना तथा सञ्चालनका लागि केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेसन इन इ–हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्ने तय भएको केयूले जानकारी दिएको छ। सोही परियोजनाअन्तर्गत युनिभर्सिटी इन्स्टिच्युट अफ लिसवन, आइएससिटिई पोर्चुगलको पनि सहयोग बताएका छन्।

स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि संलग्न रहँदै आएका आयटा इन्कर्पाेरेसनका अभिशेक महतले बजारमा हेल्थ इन्फरम्याटिक्सको जनशक्तिको एकदमै उच्च माग रहेको अवस्थामा केयूको यो कार्यक्रम सञ्चालन गर्ने योजना एकदमै समय सान्दर्भिक भएको बताए। यस कदमले स्वास्थ सूचना प्रणली विकासमा संलग्न आमसंस्थाहरू उत्साहित भएको उनको भनाइ छ।

डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका विभागीय प्रमुख सहप्राध्यापक डा. बालकृष्ण बलले नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्न सधैँ अग्रसर  रहने विश्वविद्यालयको कम्प्युटर डिपार्टमेन्टको यो पाँचौँ स्नातकोत्तर कार्यक्रम रहको जानकारी दिए। यस विषय अध्यापनका लागि काठमाडौं विश्वविद्यालय डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ  र स्कुल अफ मेडिकल साइन्सका प्राध्यापकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विषय विज्ञहरू संलग्न रहने बताइएको छ।

उक्त कार्यक्रम धुलिखेलको चौकोटस्थित काठमाडौं विश्वविद्यालयको लंग्स सेन्टरमा सञ्चालन गरिनेछ।