मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ कार्तिक २१ सोमबार ०७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने

निर्वाचन पर्यवेक्षणमा चार सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्त, दुईका आयुक्त आउँदै, राज्यमन्त्री नेतृत्वमा टोली पठाउने जापानको तयारी

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ कार्तिक २१ सोमबार ०७:५३:००

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्न छिमेकी भारतसहित चार सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्त तथा श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउने भएका छन् । जापानबाट आउने पाहुना टोली निश्चित भइसकेको छैन । यद्यपि, विदेश राज्यमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल आउने गरि छलफल भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसोसिएसन अफ वल्र्ड इलेक्टोरल बडिजका अध्यक्ष राजीव कुमारको नेतृत्वको प्रतिनिधिमण्डल आउने तय भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए । उनका अनुसार बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल, भुटानबाट प्रमुख आयुक्त सोनम तोप्गे र माल्दिभ्सबाट निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक आउने भएका छन् । श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउने निश्चित भइसकेको छ । 

निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि विदेशी पाहुनाहरू २ मंसिरमा काठमाडौं आइपुग्नेछन् । उनीहरूले उपत्यकाभित्रको मतदानको अवलोकन गर्नेछन् । त्यसबाहेक आयोगका पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता हुनेछ । उनीहरू ६ मंसिरमा स्वदेश फिर्ता हुने कार्यक्रम छ । विदेशी पाहुनाको नेपाल बसाइको खर्च आयोगले नै व्यहोर्नेछ । जापान र दक्षिण कोरियाले भने सम्पूर्ण खर्च आफैँ व्यहोर्ने बताएका छन् । ‘जापान र दक्षिण कोरियाले आफैँ तपाईंको निर्वाचन अवलोकन गर्न चाहन्छौँ भनेपछि हामीले हुन्छ भनेका हौँ । उहाँको आफ्नै हस्पिटालिटी हो,’ भट्टराईले भने, ‘यद्यपि जापानको अझै निश्चित भइसकेको छैन ।’ 

आयोगले निर्वाचन पर्यवेक्षण गरिदिन सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । परराष्ट्र मन्त्रालय, नेपालस्थित विदेशी नियोग र विदेशस्थित नेपाली नियोगमा सूचना पठाएर पर्यवेक्षण गरिदिन आग्रह गरेको थियो । स्थानीय तह निर्वाचनमा भने विदेशी पाहुना आएका थिएनन् । 

 चार अन्तर्राष्ट्रिय संस्थाका २५ जना मतगणनासम्म नेपालमै रहने
निर्वाचन पर्यवेक्षण गर्न चार विदेशी संस्थाले अनुमति पाएका छन् । थाइल्यान्ड कार्यालय भएर एसियन क्षेत्र हेर्ने एसियन नेटवर्क फर प्रि–इलेक्सन (एनएफआरइएल)ले यसपालि पनि नेपालको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । यो संस्थाले नेपालका हरेक निर्वाचनमा पर्यवेक्षण गर्दै आएको छ । त्यस्तै, सिभिक च्याम्बर अफ रसियन फेडरेसन, बंगलादेशको सार्क ह्युमन राइट्स फाउन्डेसन, डेनमार्कको सिल्बा इनिसिएटिभ फर डाइलग एन्ड डेमोक्रेसीले पर्यवेक्षणको अनुमति पाएका हुन् ।

चारवटै संस्थाका कुल २५ जना पर्यवेक्षकले मतगणनासम्म पर्यवेक्षण गर्ने आयोगका सहायक प्रवक्ता भट्टराईले बताए । निर्वाचनमा पर्यवेक्षण गर्न देशभित्रका ४४ वटा संस्थाले अनुमति पाएका छन् । सुरुवातमा यी संस्थाबाट २० हजारजनाले पर्यवेक्षण गर्ने भनिए पनि हालसम्म करिब आठ हजार व्यक्तिले अनुमति पाएका छन् । निर्वाचन आयोग ऐनको दफा ६ अनुसार आयोगले स्वदेशी वा विदेशी व्यक्ति संस्थालाई निर्वाचनसम्बन्धी कामकारबाहीको पर्यवेक्षण गर्न अनुमति दिने गर्छ ।